टोटनहमलाई उपाधि

लण्डन । इंग्लिस प्रिमियर लिगको क्लब टोटनहम हट्स्परले जर्मन लिग च्याम्पियन बायर्न म्युनिखलाई सडेन डेथमा पराजित गर्दै औडी कपको उपाधि जितेर प्री–सिजन अन्त्य गरेको छ । निर्धारित समयमा २–२ को बराबरी भएको खेलमा सडन डेथमा टोटनहमले ६–५ को जित निकालेको थियो ।

एरिक लामेलो जर्जेस केभिन एनकुडुको पासमा गोल गर्दै पहिलो हाफमा टोट्नहमलाई अघि बढाएका थिए । लगत्तै एरिक्सनले डी बक्सभित्रबाट गोल गर्दै टोटनहमको अग्रता दोब्बर पारे । तर, वार्यनका किशोर खेलाडीद्वय जान फिएट आर्प र अल्फोन्सो डेभिसले गोल गर्दै निर्धारित समयको खेल बराबरीमा ल्याए । दुवैले २५ यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा स्पर्सका क्रिस्टियन एरिक्सन तथा बायर्नका डेविड अलावाको प्रहार गोल हुन नसकेको पछि खेलको नतिजा सडन डेथबाट लिइएको हो । सडन डेथमा जेरोम बोटेङले निर्णायक प्रहार गोलमा परिणत गर्न नसक्दा बायर्न पराजित भयो ।

टोटनहमका सान हुंग मिनले दुईवटा गोलको सुनौलो मौका पाएपनि गुमाएका थिए । उनका दुवै प्रहारलाई विपक्षी गोलकिपरले बचाएका थिए । मिनसँगै कप्तान हृयारी केनको प्रहार पनि पनि गोलकिपरले बचाएका थिए । यस्तै प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा करिम बेन्जिमाको हृयाट्रिकको सहयोगमा रियल मड्रिडले फेनेनवाचीलाई पराजित गरेको छ । प्री–सिजनमा रियलको यो पहिलो जितसमेत हो ।

बुधबार राति भएको खेलमा फेनरवाचीलाई ५–३ गोल अन्तरले पराजित गर्दै जिनेदिन जिदानको टिम तेस्रो बनेको हो । खेलको छैटौं मिनेटमा ग्यारी रोड्रिग्वेसको गोलबाट रियलले अग्रता बनाएको थियो । १२आंै मिनेटमा बेन्जिमाले खेल बराबरीमा ल्याएका थिए । २७आंै मिनेटमा बेन्जिमाले रियललाई २–१ को अग्रता दिलाए भने ५३आंै मिनेटमा बेन्जिमाले गोल गर्दै हृयाट्रिक पूरा गरे । त्यसबाहेक रियलका नाचो फर्नान्डेज, मारिनो डियाजले गोल गरे । फेनरवाचीका लागि नबिल दादर र ओजान तुफाले गोल गरेका थिए ।