क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङ्गोर राज्यस्थित हुलु सेलाङ्गोर क्षेत्रमा अचानक आएको बाढीको पानीको तीव्र बहावमा बगेर नेपालीसहित पाँच जना विदेशी नागरिकको मृत्यु भएको छ। घटनामा अझै तीन जना बेपत्ता रहेका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य सुुङ्गाई सेलाङ्गोर बाँधसम्म विस्तार गरिएको छ।
सोमबार (नोभेम्बर ९) साँझ करिब ५:३० बजे कम्पुङ पर्ताकस्थित लाता जेबुस झरनानजिकै अचानक पानीको बहाव बढ्दा नदी किनारमा रहेका आठ जना बगेका थिए। उनीहरूमा एक नेपाली, एक मलेसियाली, एक यमनी, एक श्रीलङ्काली र चार जना भारतीय नागरिक रहेका थिए।
मलेसियाको सेलाङ्गोर अग्नि तथा उद्धार विभागका अनुसार मंगलबार बिहानसम्म पाँच जनाको शव फेला परेको छ। तीमध्ये पहिलो शव भीआई विजयन (३६) को रहेको पुष्टि भएको छ। उनको शव घटनास्थलबाट करिब २.७ किलोमिटर टाढा पर्ताक पुलनजिकै मंगलबार बिहान १:३० बजे फेला परेको थियो।
त्यसैगरी, मंगलबार बिहान करिब १०:१२ बजे लाता जेबुसबाट करिब एक किलोमिटर टाढा सेङ्गेट पुल तथा झोलुङ्गे पुलनजिकै थप चार जनाको शव फेला परेको थियो। उनीहरूको पहिचान तथा राष्ट्रियता भने समाचार प्रकाशित हुँदासम्म पुष्टि भएको थिएन।
उद्धार टोलीले बेपत्ता तीन जनाको खोजीका लागि घटनास्थलदेखि करिब तीन किलोमिटर टाढा रहेको सुुङ्गाई सेलाङ्गोर बाँधसम्म खोजी क्षेत्र विस्तार गरेको छ। सुुङ्गाई लुइट नदीको बहाव क्षेत्रमा केन्द्रित रहेर खोजी कार्य भइरहेको उद्धार अधिकारीहरूले बताएका छन्।
मृतकहरूको शव परीक्षणका लागि सुुङ्गाई बुलोह अस्पताल लगिएको जनाइएको छ।
घटनामा बाँच्न सफल २७ वर्षीय बी. पार्थिबनका अनुसार उनका आफन्त विजयन विदेशी साथीहरूको समूहसँग झरना घुम्न पुगेका थिए। साँझ करिब ५:३० बजे अचानक पानीको बहाव तीव्र बनेर काठका मुढा तथा अन्य वस्तु बगाउँदै ल्याएपछि उनीहरू सुरक्षित स्थानमा जानसमेत कठिन भएको थियो।
त्यस्तै, घटनामा बाँच्न सफल १९ वर्षीय यमनी विद्यार्थी मुहम्मदले आफूहरू नदीमा पुग्दा कुनै खतराको सङ्केत नदेखिएको बताएका छन्। तर, अचानक आएको पानीको तीव्र बहावले नदी किनारमा रहेका उनका तीन जना साथीलाई बगाएको र तीमध्ये एक जना अझै बेपत्ता रहेको उनले बताएका छन्।
यस घटनामा मृत्यु भएका नेपाली नागरिकको पहिचान तथा अन्य विवरण भने मलेसियाली अधिकारीहरूले सार्वजनिक गरिसकेका छैनन्। बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।
स्रोत : स्थानीय मिडिया बर्नामा



















