क्वालालम्पुर (मलेसिया):= मलेसियाको हुलु सेलाङ्गोर क्षेत्रमा आएको आकस्मिक बाढी (Kepala Air) मा परी नेपालीसहित पाँच जना नागरिकको मृत्यु भएको छ। घटनामा तीन जना अझै बेपत्ता छन्। मृत्यु हुने नेपाली नागरिक काभ्रेपलाञ्चोकको बनेपा निवासी ४९ वर्षीय राजेश कापाली रहेको पुष्टि भएको छ।
कापाली विगत दुई दशकदेखि मलेसियामा बसोबास गर्दै आएका थिए। उनी यहाँस्थित QC Protection and Investigation Service Sdn. Bhd. मा सुरक्षागार्ड अफिसरका रूपमा कार्यरत थिए। उनी लामो समयदेखि सुरक्षा क्षेत्रमा आबद्ध रहँदै आएका थिए।
सोमबार (नोभेम्बर ९) साँझ करिब ५:३० बजे कम्पुङ पर्ताकस्थित लाता जेबुस झरनानजिकै कापाली लगायतका मानिसहरु रमाइलो गर्न गएका थिए । तर , अचानक पानीको बहाव बढ्दा नदी किनारमा रहेका आठ जना बगेका थिए। उनीहरूमा एक नेपालीसहित मलेसियाली, यमनी, श्रीलङ्काली र भारतीय नागरिक रहेका थिए।
सेलाङ्गोर अग्नि तथा उद्धार विभागका अनुसार मंगलबार बिहानसम्म पाँच जनाको शव फेला परेको छ। बाँकी तीन जनाको खोजी कार्य घटनास्थलदेखि करिब तीन किलोमिटर टाढा रहेको सुुङ्गाई सेलाङ्गोर बाँधसम्म विस्तार गरिएको छ। मृतकहरूको शव परीक्षणका लागि सुुङ्गाई बुलोह अस्पताल लगिएको छ।

घटनाबारे जानकारी लिन राष्ट्रिय स्वतन्त्र पार्टी “”रास्वपा” मलेसियाका कमल चन्द, प्रकाश गिरी, सन्तोष केसी र प्रकाश बस्नेतलगायत नेपाली समुदायका प्रतिनिधिहरू घटनास्थलमै पुगेका थिए। मलेसियामा लामो समयदेखि कार्यरत कापालीको निधनले नेपाली समुदाय स्तब्ध बनेको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ।



















