असफल भएको महसुस हुनासाथ जिम्मेवारी त्याग्छु : मन्त्री भट्टराई

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ जिम्मेवारी त्याग्ने घोषणा गरेका छन् ।

मदन भण्डारीको सालिकमा माल्यार्पणको क्रममा उनले पत्रकारसँग यस्तो बताएका हुन् । भट्टराईले आफूले महसुस गरेको वा प्रधानमन्त्रीले असफलताको संकेत गरेकै दिन मन्त्री त्याग्ने घोषणा गरे ।

मन्त्री भएलगत्तै आज बिहान तत्कालीन नेकपा (एमाले)को पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर उनले भण्डारीको सालिकमा फूलमाला चढाएर माल्यापर्ण गरे । बल्खुपछि मन्त्री भटृराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिस डाँडास्थित पार्टी कार्यालयमा शहीद तथा बेपत्ता व्यक्तिको स्मरणमा बनाइएको शहीद तथा बेपत्ता योेद्धा स्तम्भमा समेत माल्यापर्ण गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।  

शहीदको बलिदानबाटै अहिले हामी यो अवस्थामा आइपुग्न सफल भएको बताउँदै उनले नेपाल वायुसेवा निगमको साखलाई उचाइ पु¥याउने र निर्माणाधीन पोखरा, बारा तथा लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थललाई निर्धा्रित समयभन्दा चाँडै नै बनाइनेसमेत बताए । 

बुधबार पर्यटनमन्त्रीमा नियुक्त भएपछि मन्त्री भट्टराई लैनचौरस्थित शहीद स्तम्भ पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

केही दिनभित्रै आफूले गर्ने कामसहितको प्रतिबद्धता पत्र र मन्त्रालयका विवादास्पद विषय सार्वजनिक गर्ने जनाएका मन्त्री भट्टराईले चुनौति सामना गर्ने दृढताका साथ नै जिम्मेवारी लिएको दोहो¥याए ।