काठमाडौं । अहिले नेपालमा चलचित्रमा लगानी गरेर मुनाफा कमाउन निकै मुस्किल छ । करोडौंको लगानी गर्ने तर लगानी पनि सुरक्षित नहुने नेपाली चलचित्रको क्षेत्रमा वर्षेनी सय बढी चलचित्र बनिरहेका हुन्छन् ।
त्यसमा १० प्रतिशत चलचित्रलेमात्र लगानी सुरक्षित मुस्किलले गरेको तथ्यांक छ । नयाँ निर्माता खोज्ने र चलचित्र बनाउने लहर धेरै पहिलादेखि चल्दै आएको छ । गुणस्तरमा ध्यान नदिने र जतिसक्दो छिटो चलचित्र छायांकन सक्ने र रिलिज गरिहाल्ने केही चलचित्र निर्माताको बानीले पछिल्लो समय नेपाली चलचित्र हेर्ने दर्शकको मनमा नकारात्मक छाप पर्दै गएको देखिन्छ । नेपालमा केही चलचित्र निर्माण ब्यानर यस्ता छन् जसले आफ्नो चलचित्र हेर्नै पर्ने गहिरो छाप पारिसकेका छन् ।
यसैबीच बुधबार ‘लक्का जवान’ नाममा नयाँ चलचित्र निर्माण घोषणा गरियो । जसमा १० जनाको लगानी रहनेसमेत जानकारी दिइयो । हास्य कलाकार शिवहरि पौडेलले पहिलोपटक निर्देशन गर्न लागेको यो चलचित्रकी अनसुया श्रेष्ठ वन्त हुन् ।
यस्तै कार्यकारी निर्मातामा किरण केसी, शिवहरि पौड्याल र दिलिप रायमाझी छन् । यी तीनले चलचित्रमा अभिनयसँगै लगानी पनि गर्दैछन् । यस्तै चलचित्रका लागि अन्य ६ जना सहनिर्मातामा छन् । उनीहरूको धेरथोर लगानी चलचित्रमा रहनेछ । कलाकार रामाराम पौड्याल, दिपेन्द्र खनियाँ, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी सहनिर्माता हुन् ।
चलचित्रको लगानी भने खुलाइएको छैन । पछिल्लो समयका चलचित्रमा करोडभन्दा तल लगानी हुन छाडिसकेका छन् । यस चलचित्रको कथा र मेकिङको भनाइ बुझ्दा कम्तीमा दुई करोड लगानी हुने देखिन्छ । यसअघिका सफल चलचित्रहरू ‘वडा नम्बर छ, छक्का पञ्जा, शत्रु गते’लगायत चलचित्रमा धेरै लगानीकर्ता थिए ।
‘लक्का जवान’को कथा शिवहरिले नै लेखेका हुन् । आउँदो चैत ७ गतेलाई प्रदर्शन मिति तोकिएको यो चलचित्र आउँदो भदौको पहिलो साताबाट छायांकनमा निस्किने बताइएको छ । चलचित्रमा दिलिप रायमाझी, शिवहरि पौडेल र किरण केसी स्वयंको अभिनय रहनेछ । यिनका अलवा चलचित्रमा प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, राजाराम पौडेल, सरोज खनाल, जयनन्द लामा, अनुसुया श्रेष्ठ वन्त, सुशील पोख्रेल, रमेश केसी, सवित गुरुङ, विमला गिरी, अञ्जु मर्हजन, मनिसा श्रेष्ठ, धनिराम मुस्कान, यमन श्रेष्ठ, विनोद केसी, शिवहरि आचार्य, स्वस्तिका लामिछाने, कञ्चन सापकोटा, डोमा शेर्पा र लक्ष्मी श्रेष्ठलगायतको अभिनय रहनेछ ।
आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा पारिवारिक कथासँगै कमेडी जनरा रहने बताइयो । अभिनेत्री वर्षा सिवोकोटी चलचित्र ‘वीर विक्रम २’ प्रदर्शनका लागि हाल जापानमा रहेकी छन् । वर्षा र निर्माण टिमबीच चलचित्रका लागि मौखिक सहमति भइसकेको छ । भने नायिका प्रियंका कार्कीसँग लिखित सम्झौता यसअघि भइसकेको थियो । यस्तै अन्य विशेष कलाकार पनि चलचित्रमा रहने तर अहिले नाम नखुलाइएको शिवहरिले बताएका थिए ।
कार्यक्रममा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थिति थियो । यस्तै दीपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, उमेश उप्रेतीलगायतको उपस्थिति थियो ।
लाकार शिवहरि पौड्यालले आफूले निर्देशन गर्न लागेको चलचित्र ‘लक्का जवान’को औपचारिक घोषणा कार्यक्रममै चलचित्र समक्षीकहरूलाई एक आग्रह गरे । उनले चलचित्र प्रदर्शन भएको एक÷दुई हप्तासम्म दर्शकलाई चलचित्र हेर्न दिएरमात्र समीक्षा गरिदिन आग्रह गरे ।
‘निकै दुःख गरेर चलचित्र निर्माण गरिएको हुन्छ । पहिलो दिनदेखि नै यो चलचित्र झुर, यो चलचित्र हेर्न लायक छैन भन्ने प्रतिक्रिया आइरहेको हुन्छ’, शिवहरिले भने, ‘जसले गर्दा उक्त चलचित्रलाई मात्र होइन, सिंगो चलचित्रलाई असर गर्छ । नकारात्मक प्रतिक्रियाया दिन हत्तारो नगर्दिनु हुन अनुरोध गर्दछु ।’ शिवहरिले चलचित्रलाई नराम्रो लेख्नुअघि केही सोचिदिन आग्रह गरे । उनले चलचित्रले प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा धेरैलाई रोजगारी दिएको बताए ।




















