यसरी सडकमा आउँछन् बालबालिका

काठमाडौं । ‘झट्ट हेर्दा उनको शरीरको कपडा अहिलेको फेसनजस्तो लाग्थ्यो, ठाउँठाउँमा प्वाल भएको । अहिलेका युवापुस्ताका धेरैले डिजाइन भन्दै प्वालैप्वाल बनाइएका पाइन्ट लगाउँछन् । राजधानीको सडकपेटीलाई नै आफ्नो बासस्थान बनाएका १४ वर्षीय बालक युमेशको पाइन्ट भने फेसनको होइन । 

युमेश सानैमा सडकमा आइपुगे । अरूले फँ्याकेका खानेकुरा खाएर सडकमै हुर्किए । युमेश दिनभरि प्लाष्टिक र ‘मिनिरल वाटर’ बोतल खोजेर जम्मा पार्छन् । आफूले तातो घाममा घुमेर भेला पारेका तिनै सामान कवाडीमा बेच्छन् र गुजारा चलाउँछन् । उनले सडकमै साथीहरू बनाए । तिनै साथीहरूले उनको नाम युमेश राखिदिएका हुन् ।  

१२ वर्ष उमेरका सानेको घर पनि राजधानीको सडक पेटी नै हो । उनलाई आफू कहाँ जन्मिएँ र कसले जन्मायो भन्ने पनि थाहा छैन । उनले थाहा पाउँदा उनी सडकमै थिए । अहिले आफूजस्तै प्लाष्टिक टिप्ने र अन्य कवाडी सामान भेला पार्ने साथीहरू बनाएका छन् । ‘अरूले फँ्याकेको लुगा उनलाई नयाँ लाग्छ, त्यही लगाउँछन् । ठीक भए पनि नभए पनि, ठूलो भए पनि सानो भए पनि रमाइरमाई लगाउँछन् ।  उनी भन्छन्, ‘कहिलेकाहीँ त साथीहरूसँग त्यस्तै लुगा र सामानमा झगडा पनि पर्छ ।’

हटौंडाकी १३ वर्षीया सुजिता दोङको घर पनि राजधानीकै सडकपेटी हो । अहिले प्लाष्टिक र कवाडी सामान बेचेर गुजारा चलाउँदैछिन् । सुजिता ९ वर्षको उमेरमा घरबाट भागेर राजधानी आएकी हुन् । यसपछि फर्केर घर गएकी छैनन् ।  उनका उनुसार सानैमा आमा बितिन् । घरमा बाबु छन् तर कुलतमा फसेका  । घरमा पनि भोकै बस्नुपथ्र्याे । गाउँमा मागेर खानुपथ्र्याे । एकदिन उनी गाडी चडेर काठमाडौं आइपुगिन् । पिठ्युँमा एउटा बोरा झुण्ड्याएर कवाडी सामान टिप्न हिँड्छिन् । त्यसैको थोरै कमाइले काम चलाउँछिन् ।

यी दुईजना राजधानीको सडकमा भेटिएका प्रतिनिधि पात्र मात्र हुन् । 

यसरी सडकलाई आफ्नो घर र सडकमै आश्रय लिएर बस्ने बेवारिसे बालबालिकाहरू धेरै भेटिन्छन् । सडकलाई नै आफ्नो आश्रयस्थल बनाएर बस्नेमा बालकहरू धेरै छन् । हराउने, दुव्र्यवहारमा पर्नेजस्ता कारणले बालिकाहरू सडकमा थोरै मात्रै भेटिने गरेको जानकारहरू बताउँछन् । 

बालबालिका खोजतलास तथा समन्वय केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२ देखि २०७६ सम्ममा ११ हजार ७८९ बालबालिका हराएका छन् । जसमध्ये ३ हजार ३०५ जना फेलापरेका छन् । गएका केही वर्षमा बालबालिका हराउने क्रम निकै बढेको छ । आर्थिक वर्ष २०७२÷७३ मा हराएका बालबालिकाको संख्या १३ सय १५ थियो भने भने भेटिएका बालबालिकाको संख्या ४४० मात्र । त्यस्तै, आर्थिक वर्ष ०७३÷७४ मा हराएका बालबालिकाको संख्या २७ सय ७२ थियो  भने ७७० जना मात्र भेटिए । 

आर्थिक वर्ष २०७४÷७५ मा हराएका बालबालिकाको संख्या २३ सय ३० रहेको थियो जसमा ६४२ जना भेटिए । आर्थिक वर्ष  ०७५÷७६ को वैशाख सम्ममा २४ सय ५३ हराएकामा जसमध्ये १ हजार १५ भेटिए ।  

केन्द्रका अधिकृत सन्तोष चन्द्र अधिकारीका अनुसार यसरी सडकमा आइपुगेका बालबालिकाहरू स्वतन्त्र भएर बसेका हुनाले तीमध्ये कतिपय घमण्डी, लागुपदार्थ प्रयोग गर्ने आपराधिक प्रवृत्तिका हुन्छन् । पारिवारिक कलह, बाबुआमाबीच सम्बन्धविच्छेद, खराब संगत जस्ता कारणले बालबालिकाहरू सडकमा आइपुग्ने गरेको उनको भनाइ छ ।

उनका अनुसार आमाबाबुको सम्बन्ध बिग्रन थालेपछि बालबालिकाको भविष्य अन्धकारतिर धकेलिन थाल्छ । केही जानकारहरूका अनुसार बालबालिका सडकमा आउनुको एउटा कारण वैदेशिक रोजगारी पनि भएको छ । आमाले दोस्रो बिहे गरेपछि सडकमा पुगेका बालबालिकाहरू भेटिने गरेका छन् ।