काठमाडौं । विश्वकप २०२२ छनौटअन्तर्गत नेपालले चार देशसँग होम एण्ड अवे खेल खेल्नुपर्ने हो । तर दशरथ रंगशाला समयमै नबन्ने भएपछि नेपालले कुवेतविरुद्धको होम खेल पनि उसैको भूमिमा खेल्नुपर्ने बाध्यता बनेको छ ।
दशरथ रंगशालाको पुनर्निर्माण नसकिएपछि पहिले अवे खेल खेलेर पछि होम खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्तावलाई कुवेतले अस्वीकार गरेपछि नेपालले होम खेल पनि कुवेतमै खेल्नुपर्ने भएको हो ।
एन्फा कमिटीको मंगलबार बसेको बैठकले दशरथ रंगशाला फिफाको मापदण्डअनुरूप तयार नभएका कारण नेपालको होम म्याचलाई पनि कुवेतको फुटबल संघ समन्वयन गरी खेल्न पत्राचार गर्दा एफसीले स्वीकृति दिएको उल्लेख गरिएको छ । त्यसबाहेक रंगशाला तयार नभएका कारण भदौ २४ गते चाइनिज ताइपेईविरुद्ध र असोज २८ मा जोर्डनविरुद्धका लागि तय भएको होम खेल पनि नेपालले अवे मैदानमा खेल्नेछ ।
त्यसबाहेक अवे मैदानका लागि तय भएको चैत १३ मा ताइपेईमा र जेठ २२, २०७७ मा जोर्डनको खेल नेपालमा हुनेछन् । त्यसबाहेक अष्ट्रेलियाविरुद्ध असोज २३ (अवे) र चैत १८ (होम) का खेलहरू हुनेछन् । छनौटअन्तर्गत नेपाल समूह ‘बी’मा परेको छ । जसमा नेपालले चार खेल होममा र चार खेल अवेमा खेल्नुपर्ने थियो । कुवेतविरुद्धको होम खेल पनि उसैको मैदानमा खेल्नुपर्ने भएपछि नेपालले अब घरेलु मैदानमा ३ वटामात्रै खेल खेल्नेछ ।
फिफा वरियतामा उत्कृष्ट ३२ भित्रपरेपछि नेपालले विश्वकप छनौटमा सिधै दोस्रो चरणमा प्रवेश पाएको थियो । ४० टिम सहभागी छनोटमा ८ समूहका शीर्ष टिमसँगै उपविजेतामध्ये उत्कृष्ट चार टिम कतारमा हुने विश्वकपको एसियाली छनोटको अन्तिम चरणमा पुग्नेछन् ।
यस्तै एन्फा कमिटी बैठकलले अष्ट्रेलियन गेरी फिलिप्सलाई प्राविधिक निर्देशकमा नियुक्त गरेका छन् । उनीसँग अष्ट्रेलियाका क्लबहरू सिड्नी ओलम्पिक र ब्रिसबेन स्ट्राइकर्सबाट मिडफिल्डमा डेढ दशक खेलेको अनुभव छ । उनीसहित विभिन्न देशका ९ जनाले प्राविधिक निर्देशकका लागि आवेदन दिएका थिए । यस्तै कमिटीले एन्फाले ग्रासरुटमा कार्यरत सन्जित सिंहलाई कोचेज एजुकेसन, नवीन महर्जनलाई इलिट एन्ड युथ र हरि खड्कालाई वुमेन्स फुटबलमा प्रमुखमा नियुक्ति गरेको छ ।
त्यसबाहेक एन्फाले राष्ट्रिय फुटबल टोलीका एथ्लेटिक ट्रेनर विवेक विक्रान्त अधिकारीलाई गोलरक्षक किरण चेञ्जोङको अनुहारमा चिया छ्यापेको घटनामा दोषी मान्दै बर्खास्त गरेको छ । छानविन समितिले दिएको प्रतिवेदनका आधारमा अधिकारीलाई बर्खास्त गरेको एन्फाले किरणलाई भने अनुशासनमा रहन सचेत गर्ने निर्णय गरेको छ ।
असारको ९ गते ट्रेनर र राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङबीच विवाद भएको थियो । पछि विवेकले किरणलाई पछ्याउँदै तातो चिया अनुहारमा खनाइदिएपछि विवादले उग्ररूप लिएको थियो । त्यसपछि एन्फाले केन्द्रीय सदस्य मधुसूदन उपाध्यायको संयोजकत्वमा तीन सदस्यी छानविन समिति गठन गरेको थियो ।
एसियाली फुटबल महासंघ एएफसीले प्रसिडेन्टल इनिसेयटिभ फन्ड प्रोग्रामअन्तर्गत उपलब्ध गराउने ५० हजार अमेरिकी डलको दुईवटा इलेक्ट्रिक गाडी खरिद गर्ने निर्णय समेत एन्फाले गरेको छ ।




















