नेपालमा विषादी प्रयोग कम, असर बढी

अन्य देशको तुलनामा नेपाली कृषकले कृषि क्षेत्रमा कम विषादी प्रयोग गर्ने गरेको भएपनि प्रयोग गर्न नजानेका कारण असर भने बढी देखिने गरेको छ । प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.डिल्लीराज शर्माका अनुसार नेपालमा प्रतिहेक्टर ३९६ ग्राममात्र कीटनाशक विषादीको प्रयोग गर्ने गरिएको छ । 

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको आयोजनामा बुधबार राजधानीमा आयोजित नेपालमा विषादीको प्रयोग र स्वास्थ्यमा असर विषयक कार्यक्रममा नेपालीले विषादीको प्रयोग गर्न नजानेका कारण बढी असर देखिएको बताए ।

उनका अनुसार जापानमा प्रतिहेक्टर १०.८ केजी, कोरियामा १६.६ केजी, इटालीमा १३ केजी विषादी प्रयोग हुन्छ । तर उल्लिखित मुलुकमा नेपालमा जस्तो स्वास्थ्यमा गम्भीर असर देखिएको छैन । विषादी प्रयोग गरिएका खाद्यान्न र तरकारीको उपभोग गर्दा स्वास्थ्यमा असर हुने जानकारी दिँदै उनले कालिमाटी तरकारी बजारमा कार्बामेट र अर्गानोफोसफेट परीक्षण गर्ने मेसिन राखेर अनुगमन भइरहेको बताए । 

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले रासायनिक विषादी विस्थापित गरी जैविक विषादीको प्रयोग गर्न सवै तह र तप्काबाट दबाब दिनुपर्ने बताए । सदनमा अलपत्र अवस्थामा रहेको जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तत्काल पारित हुनुपर्ने बताए । उक्त विधेयकमा विषादीको अनुचित प्रयोग गरिए कम्तिमा २५ हजार जरिवाना र १ महिना जेल सजाय र बढीमा २ लाख रुपैयाँ जरिवाना र १ वर्ष जेल सजायको व्यवस्था रहेको छ । 

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्राडा शरदराज वन्तले नेपालमा २५ थरीका जैविक विषादीको प्रयोग भइरहेको र यसलाई प्रमाणिकरण गरी प्रयोग गर्न प्रोत्साहित गरिए जनता स्वस्थ हुन सक्ने बताए । जनस्वास्थ्यविद डा. अरुणा उप्रेतीले विषादीयुक्त खानाको सेवनले फोक्सो, कलेजो, स्वासप्रस्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घ असर पर्ने बताइन् । 

विषादीबाट स्मरणशक्तिमा ह्रास हुने, मनोरोग, छाला रोग लाग्ने पुष्टि भएको पनि उनले जानकारी दिइन् । विषादीको अधिक प्रयोगले प्रजनन् प्रणालीमा असर भइ गर्भ तुहिने, गर्भ नबस्ने, प्रजनन् क्षमतामा कमी हुने गर्छ । फोरेष्ट एक्सन नेपालका डा कृष्ण पौडेलले खानेकुरामा मन्द विष रहेको भन्दै मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौला रोगको कारक तत्व विषादीयुक्त खाना भएको बताए । 

सामाजिक अभियन्ता मदन राइले हाम्रो शरीर र ब्रहृमाण्ड पञ्चतत्वले बनेका कारणले जैविक पर्यावरणमा जोड दिनुपर्ने बताए । अस्पताल खुल्छ तर रोग लाग्न नदिन कुनै निकाय खोलिँदैन । कार्यक्रममा यमुना घले र टिना गोर्खालीले पनि किटनाशक औषधि र विषादीका सम्बन्धमा प्रस्तुति दिएका थिए ।