साफको पहिलो खेल नै भारतसँग

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल संघ (साफ) को १५ वर्षमुनिको फुटबल प्रतियोगिताको पहिलो खेल नै दक्षिण एसियाको पावर हाउस मानिने भारतसँग खेल्ने भएको छ । साफले अगष्टमा हुने प्रतियोगिताको मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले उद्घाटन खेलमा अगष्ट २१ गते भारतसँग खेल्ने भएको हो । भारतकै पश्चिम बंगालको कल्याणी रंगशालामा प्रतियोगिताका सम्पूर्ण खेल हुनेछन् ।

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अगष्ट २३, तेस्रो खेलमा बंगलादेशसँग अगष्ट २७ र अन्तिम खेलमा भुटानसँग अगष्ट २९ मा खेल्नेछ । घोषिता तालिका अनुसार पहिलो दिन नै दिउँसो श्रीलंका र भुटान भिड्नेछन् । यस्तै अगष्ट २३ मा बिहान भुटान र बंगलादेश तथा दिउँसो श्रीलंका र नेपाल भिड्नेछन् । यस्तै २५ अगष्टको बिहान बंगलादेश र श्रीलंका तथा भुटान र भारत खेल्ेछन् । २७ अगष्टमा भारत र श्रीलंका तथा दिउँसो नेपाल र बंगलादेशबीच भेट हुनेछ ।

२९ अगष्टको बिहान भुटान र नेपाल तथा दिउँसो बंगलादेश र भारतबीच खेल हुनेछ । पाकिस्तानले भने प्रतियोगितामा सहभागिता जनाएको छैन् । पाँच टिम रहेको प्रतियोगिताको शीर्ष २ टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । गत संस्करणको प्रतियोगिता नेपालले आयोजना गरेको थियो । बंगलादेशले उपाधि जितेको उक्त प्रतियोगितामा नेपाल चौंथो भएको थियो ।