बैंकलाई एक महिनापछि ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैंकलाई एक महिनापछि ब्रोकर लाइसेन्स दिने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बैंकलाई ब्रोकर लाइसेन्स दिन अझै एक महिना लाग्ने बताएका छन् । बैंकलाई ब्रोकर लाइसेन्स दिन कार्यविधि बनाउन सयम लागेकोेले केही ढिला हुने उनको भनाइ थियो । मंगलबार लगानीकर्ताका प्रतिनिधिसँगको भेटमा साउदले उनले यस्तो बताएका हुन् । साउदले नेप्सेको सञ्चालक समिति बैठक बसेर निर्णय गरेर कम्पनी खोलेका बैंकको आवेदन माग्ने बताए । साउदले आवेदन दिनासाथ ब्रोकरको लाइसेन्स दिन नसकिने भएकोले त्यसका लागि अध्ययन गरेर योग्यलाई मात्रै अनुमति दिने जानकारी गराए । साउदले आफ्नो कारण बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन रोकेको भन्ने हल्लामा कुनै सत्यता नरहेको दाबीसमेत गरेका थिए । 

शेयर बजार उस्तै

शेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ ।  नेपाल स्टक एक्स्चेन्च (नेप्से) का अनुसार नेप्से परिसूचक ३.३९ अंकले बढेर १२५९.३७ मा अंकमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स १.०३ अंकले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोबार भने बढ्न सकेन । कुल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर २९ करोड ४३ लाख ५ हजार २३ मा खरिद बिक्री भएका छन् । कारोबार भएका कूल १२ मध्ये चार उपसमूहको शेयर घटेको भने ८ उपसमूहको शेयर बढेको छ । व्यापार ३.२९, उत्पादन १.४, जीवन बीमा ७.२१ र सामूहिक लगानी कोषको सेयर मूल्य ०.०२ अंकले घटेको छ भने बैंकिङ २.८५, होटल ५.९९, विकास बैंक ७.३२, जलविद्युत् ३.१९, वित्त ०.६५, निर्जीवन बीमा २२.८२, अन्य १.२४ र लघुवित्त १४.७२ अंकले बढेको छ ।

 कारोबार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहँदै ३ करोड १६ लाख ६२ हजार ८२० मा खरिद बिक्री भएका थिए । नेपाल बैंकको १ करोड ५६ लाख २३ हजार ६७९, प्रभु बैंकको १ करोड ४२ लाख ६७ हजार ३२७, कृषि विकास बैंकको १ करोड ३६ लाख ३६ हजार ५० र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २४ लाख ८५ हजार ६५० मा कारोबार भएको थियो ।