काठमाडौं । न्याय परिषद्को बैठकले चार न्यायाधीशमाथि छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको परिषद्को बैठकले क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका तीन न्यायाधीश र काठमाडौं जिल्ला अदालतमा कार्यरत एक न्यायाधीशमाथि छानविन गर्न समिति गठन गरेको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश दिएका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि अध्ययन गर्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानविन समिति गठन गर्ने निर्णय भएको छ । तीन न्यायाधीशलाई काजमा परिषद्मा झिकाउने निर्णय भएको उनले बताए ।
त्यस्तै, जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालामाथि छानविन गर्न परिषद्ले सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा समिति गठन गरेको छ । काठमाडौं जिल्ला अदालतमा रहेका कोइरालाले ललितपुर जिल्ला अदालतमा रहँदा एक मुद्दामा गरेको निर्णय विवादमा परेको थियो ।
तीन मुख्य न्यायाधीशको सरुवा
न्याय परिषद्को बैठकले तीन मुख्य न्यायाधीशलाई सरुवा गर्ने निर्णय गरेको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुँडाललाई उच्च अदालत सुर्खेत, सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत तुलसीपुर र तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा गर्ने निर्णय भएको हो ।
बैठकले पाटन उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई सैनिक अदालतको अध्यक्ष तोक्नका सिफारिस गर्ने निर्णय गरेको छ ।



















