हेग लगे विश्वकै हिरो हुन्छु : दाहाल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई द्वन्द्वकालीन मुद्दालाई लिएर कसैले हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा लान्छ भने आफू विश्वकै हिरो बनेर निस्किने दाबी गरेका छन् । सोमबार आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्तर्राष्ट्रिय अदालतमा जानु आफ्ना लागि झन् गर्वको कुरा हुने बताए ।

केही दिनअघि पत्रकार सम्मेलन गरेर बहिर्गमित लडाकु समूहले तीन महिनाभित्र आफ्ना माग पूरा नभए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका थिए । माओवादी जनयुद्धका समयमा बालसैन्य रहेर शान्ति प्रक्रियाअन्तर्गत सेना समायोजन हुँदा ‘अयोग्य’ ठहरिएका लेनिन विष्टलगायतले माओवादीका तत्कालीन नेताहरू दाहाल, डा. बाबुराम भट्टराईसहितका सम्बधितहरूविरुद्ध हेगमा मुद्दा दायर गर्ने चेतावनी दिएका थिए । 

‘एकथरि मान्छेहरू हेगमा लाने रे प्रचण्डलाई, अन्तर्राष्ट्रिय अदालतलमा लगेर झुण्ड्याउने रे भनेर पनि लेख्या हुन्छन्,’ नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष दाहालले भने, ‘एक दिन भए पनि जेल हाल्नुपर्छ प्रचण्डलाई भन्छन् । यो एउटा डिजाइनअन्तर्गत भइरहेको छ, शान्ति नचाहने, परिवर्तन नचाहने तŒवहरू चाहिँ यसमा लाग्या छन् ।’

उनले हेग लगेर पनि आफूलाई केही फरक नपर्ने बताए । ‘हेग लगे भने म त झन् विश्वकै हिरो भएर निक्लिन्छु । संसारले मलाई झन् एकैचोटि चिन्ने हुन्छ,’ उनले भने, ‘संसारभरिको जनताले यो त न्यायको पक्षमा रैछ, शान्तिको पक्षमा रैछ भन्ने चाहिँ ठाउँ हुन्छ । त्यो त मेरालागि गर्वको कुरा हुन्छ ।’ आफूलाई विश्वकै हिरो बनाउनेगरी उनीहरूले अन्तर्राष्ट्रिय अदालतसम्म लैजाने विश्वास भने नलागेको उनको भनाइ थियो । ‘यिनीहरूले लान्छन् र मलाई विश्वको हिरो बनाउँछन् भन्ने मलाई लाग्दैन,’ उनले भने ।

दाहालले प्रतिक्रियावादीहरू संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा रहेको बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टी, यसका नेताहरूलाई बदनाम गर्न पाइयो, यसलाई सिध्याउन पाइयो भने यसलाई उल्ट्याउन पाइन्थ्यो भनेर आजभोलि अलि बढी नै फोकस गरेर हाम्राविरुद्ध षड्यन्त्र र प्रचारहरू बढी भएका छन्,’ उनले भने, ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म हामी कोही पनि कमजोर हुँदैनौं । यो रहँदासम्म हामीलाई जहाँ लगे पनि हामी हिरो । यो नै उल्टियो भने त्यसपछि हामी, नेपालीले दुःख पाउने नेपाल नै बर्बाद हुने खतरा छ ।’ देशलाई माया गर्ने, जनतालाई माया गर्ने, परिवर्तन, प्रगतिलाई रुचाउनेहरू एक ठाउँमा जम्मा भएर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेमा उनले जोड दिए ।

क्रान्तिको बाटो सरल रेखामा नहुने पनि उनले प्रस्ट पारे । उनले क्रान्तिका विभिन्न स्वरूपअन्तर्गत नै आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको जिकिर गरे । ‘यो उपलब्धि जे भयो, हामीले खोजेको त योभन्दा धेरै थियो तर अहिलेको विश्व परिस्थिति, देशको परिस्थिति, शक्ति सन्तुलनले गर्दा हामीले यत्ति लिएर भए पनि फेरि अगाडि जाने, यहाँ टेकेर अगाडि जाने भनेर हामी यसमा आएका हौँ,’ उनले भने, ‘यसमा नआउँदा हुनेवाला के थियो त भन्दा पेरुको जे स्थिति हो, हाम्रो त्यही हुनेवाला थियो । फिलिपिन्सको जे भयो, त्यही हुनेवाला थियो । लिट्टेको जे भयो, त्यही हुने खतरा थियो ।’ त्यसैले आफ्नो आन्दोलन र त्याग, तपस्याको बलमा प्राप्त हुनसक्ने जति चिज लिइहाल्ने र त्यसलाई उपयोग गर्दै फेरि समाजवादको दिशातिर नयाँ तरिकाले अगाडि बढ्ने बाटो आफूहरूले अपनाएको उनले बताए । 

अध्यक्ष दाहालले क्रान्ति दुई÷चारजनाको रहरले हुने कुरा नभएको बताए ।  ‘क्रान्ति दुई÷चारजना क्रान्तिकारीले गरेर हुने कुरा होइन,’ उनले भने, ‘लेनिनले पटक–पटक भनेको कुरो चाहिँ क्रान्ति दुई÷चारजना क्रान्तिकारीलाई रहर लाग्यो, म गर्छु भनेर हुने चिज होइन । लाखौं करोडौं जनताको कुरा हो क्रान्ति भनेको कुरा ।’

उनले ढिलोछिटो विप्लव पनि यहीँ (अहिलेको राजनीतिक प्रणालीमा) आउनुपर्नेमा जोड दिए । विप्लवसामू या त यही व्यवस्थामा आउनुपर्ने या त सिद्धिनुपर्ने दुई मात्र विकल्प रहेको उनले बताए ।

विप्लव समूह परित्याग गरी सत्तारूढ नेकपामा प्रवेश गरेका रमण घिमिरेले आफूले बाटो बिराएको महसुस भएपछि विप्लव समूह परित्याग गरेको बताए । उनीसहित सुरेशकुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दीपकुमार कार्की, नमराज शर्मा सोमबार नेकपामा प्रवेश गरेका छन् ।