स्कुल विभागमा हानाथाप : सचिवालय बैठक निष्कर्षविहीन

काठमाडौं । पार्टी एकता प्रक्रिया निष्कर्षको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाग गठनका विषयमा उत्पन्न विवाद चुलिँदै गएको छ । गठन प्रक्रियामा रहेका पार्टीका विभिन्न संरचनाहरूका विषयमा नेतृत्वबीच सहमति जुट्न नसकेपछि सोमबार बसेको सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । यसअघि, विवाद नमिलेकै कारण सचिवालय बैठक पटक–पटक मिति तोकेर पनि स्थगित हुँदै आएको थियो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय निकायहरूको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय समिति सदस्यहरूको कार्यविभाजनका लागि नेताहरूको रुचि बुझेर मात्रै निर्णय गर्ने निष्कर्ष निकालेको छ । ‘केन्द्रीय कमिटीका सबै सदस्यहरूको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताहरू सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी आज (सोमबार) को बैठक स्थगित भएको छ’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार नेकपाको सचिवालय बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको हो । 

यसअघि, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच कुरा नमिलेका कारण आइतबारका लागि तय भएको नेकपाको बैठक सोमबार दिउँसो ३ बजेका लागि सारिएको थियो । नेकपा सचिवालयको बैठक एक सातादेखि लगातार सर्दै आएको छ ।

नेकपाले पार्टीको केन्द्रीय निकायअन्तर्गत केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोगहरू, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागहरूको टुंगो लगाउन सकेको छैन । रिक्त रहेका पार्टीका संरचना गठनका बारेमा दुवै अध्यक्षबीच आइतबार बिहान पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । छलफलमा सहमति नजुटेपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्या देखाउँदै सचिवालय बैठक सोमबारका लागि सारिएको थियो ।

नेकपामा मुख्यगरी स्कुल विभाग गठनमा सकस देखिएको छ । स्कुल विभागमा सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दाबी गरिरहेका छन् । पोखरेललाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीले साथ दिएका छन् भने श्रेष्ठलाई अर्का अध्यक्ष दाहालको साथ छ ।

दुई नेताबीच स्कुल विभाग प्रमुखका लागि रस्साकस्सी चलिरहेकै समयमा स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र बेदुराम भुसालले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् । पार्टीका महŒवपूर्ण विभागहरूमध्ये विदेश, संगठन, अर्थ तथा योजना र नीति तथा प्रतिष्ठान विभाग आफ्नो भागमा पारेको पूर्वएमाले पक्षले स्कुल विभाग पनि आफूसँगै राख्ने अडान लिँदै आएको छ । 

नेकपाका नीति तथा प्रतिष्ठानसहित ३३ मध्ये ३२ वटा विभागको भागबण्डा यसअघि नै मिलिसकेको छ । पूर्व–एमालेमा स्कुल विभाग प्रमुख अध्यक्ष ओली नै थिए भने पूर्व–माओवादी केन्द्रमा श्रेष्ठले स्कुल विभागको नेतृत्व सम्हालेका थिए ।

स्कुल विभागको जिम्मेवारी बाँडफाँटका सन्दर्भमा पूर्व–माओवादी केन्द्र एकमत छ भने पूर्व–एमाले विभाजित देखिएको छ । पूर्व–माओवादी केन्द्रले पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य श्रेष्ठलाई प्रस्ताव गरेको छ । पूर्व–माओवादी केन्द्रबाट राम कार्कीको नाम बहसमा आए पनि अध्यक्ष दाहाल भने श्रेष्ठकै नाममा सहमति जुटाउन खोजिरहेका छन् ।

पूर्व–एमालेमा सो विभागका लागि चारजना आकांक्षी देखिएका छन् । स्कुल विभाग प्रमुखमा झलनाथ खनाल, ईश्वर पोखरेल, घनश्याम भुसाल र बेदुराम भुसालको नाम चर्चामा छ ।

नेताहरूले साउनभित्रै एकता प्रक्रिया टुंगो लगाउने बताउँदै आएका थिए । अध्यक्ष दाहालले त एकता टुंग्याएर यसैमहिना स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक पनि बस्ने बताएका थिए ।