काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका बारेमा नयाँ सूत्रबाट अनुसन्धान भइरहेको बताएका छन् । संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री थापाले पुराना सबै अनुसन्धानका विधि फेल खाएपछि नयाँ सूत्रबाट हत्याकाण्डको अनुसन्धान सुरु गरिएको बताए । उनले निर्मला हत्या प्रकरणका अपराधी उम्किन नपाउने दाबी गर्दै अनुसन्धानका क्रममा लापरबाही गर्ने प्रहरीलाई निगरानीमा राखिएको बताए । ‘अपराधी कुनै पनि हालतमा उम्किँदैन, अनुसन्धानमा गैरव्यावसायिक कार्य गर्ने प्रहरी निगरानीमा छन्,’ उनले भने ।
केही घटनाको अनुसन्धान जटिल हुने भन्दै उनले दुर्भाग्यवश घटना भएको र अपराधी तत्काल पत्ता लगाउन नसकिएको बताए । उनले कतिपय कुरा अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक गर्न नमिल्ने तर्क गरे । ‘यो प्रकरणमा सरकारले आफ्नो काम गरिरहेको छ । तपाईंहरूले अपराध–अनुसन्धानको रणनीति केही भन्नुस् भन्नुभयो, ती विविध किसिमका हुन्छन्, मैले केही भन्न मिल्दैन,’ उनले भने ।
गृहमन्त्री थापाले निर्मला हत्या प्रकरणमा प्रहरीको हिरासतमा २५ दिन बसेर छुटेका दिलीपसिंह विष्टको नाम फेरि आउन थालेको पनि बताए । उनले कोही पनि ‘हाइप्रोफाइल’लाई जोगाउन निर्मला हत्या प्रकरण नमोडिएको दाबी गरे । ‘धेरैलाई हाइप्रोफाइललाई जोगाउन हो कि भन्ने परेको छ तर त्यो होइन । अहिले पनि अनुसन्धान चलिरहेकाले निचोडमा पुगिहाल्नु हुँदैन,’ उनले भने ।
एक वर्षमा विभिन्न समितिले घटनाको अनुसन्धान गरेको बताउँदै उनले सफल अनुसन्धानका लागि प्रहरीलाई आवश्यक परिचालन र निर्देशन दिइएको बताए । गृहमन्त्रीले भने, ‘सयौं व्यक्तिलाई अनुसन्धानको घेरामा राखेका छौं । नयाँ सूत्रबाट अनुसन्धान अगाडि बढेको छ ।’
अपराध अनुसन्धान गर्ने विभिन्न तरिका हुने बताउँदै उनले दिलीपसिंह विष्ट लगायतका व्यक्ति ‘डिएनए’ नमिलेका कारण छुटेको बताए । पछिल्लो समय यसबारे सार्वजनिक बहस भइरहेको र त्यसबाट अनुसन्धानलाई सहयोग नै पुग्ने गृहमन्त्री थापाको भनाइ थियो ।
त्यसअघि, समितिको बैठकमा उपस्थित सांसदहरूले गृहमन्त्री थापालाई निर्मला हत्या प्रकरणमा ‘हाइप्रोफाइल’ अभियुक्तलाई लुकाउन खोजिएको हो भन्ने प्रश्न गरेका थिए । उनीहरूले गृहमन्त्री थापालाई दिलीपसिंह विष्ट दोषी भएको भए छाड्नुको कारणबारे पनि प्रश्न गरेका थिए ।
बैठकमा गृहमन्त्री थापाले समितिका सभापति रामनारायण बिडारीलाई निर्मला हत्या प्रकरणबारे गरिएको अनुसन्धानको छायाप्रति बुझाएका थिए । उनले अनुसन्धानको उक्त छायाप्रति बाहिर सार्वजनिक नगर्न आग्रह गरेका थिए ।



















