अन्ततः बेल रियलमै

म्याड्रिड । अनिश्चित भविष्यकाबीच अन्ततः वेल्सका स्टार फरवार्ड ग्यारेथ बेल रियल म्याड्रिडमै रहने भएका छन् । चाइनिज सुपर लिग क्लब जियन्गु सुनिङमा जाने सबै तयारी भए पनि अन्तिम समयमा रियलले बेलको चाइनिज क्लबसँगको सम्झौता रद्द गरेको हो ।

३० वर्षे बेलको हप्तामा १ मिलियन पाउण्ड पाउने गरि सुनिङसँग तीनवर्षका लागि सम्झौता अन्तिम चरणमा पुगको थियो । रियलका प्रशिक्षक जिनेदिने जिदानले पनि बेल क्लब छाड्न लागेको बताएका थिए । उनीसँगको सम्बन्ध बिग्रेका कारण बेल पनि क्लब छाड्ने योजनामा पुगेका थिए ।

जिदानले बेलले रियल छाड्दा नै सबैको भलो हुनेसमेत बताएका थिए । तर आइतबार साँझ भने रियलले बेलको चाइनिज क्लबसँगको सम्झौता रद्द गर्दै आफूसँगै राख्ने निर्णय गरेको हो ।

सन् २०१३ मा बेल टोट्नहमबाट स्पेसिन क्लब रियल म्याड्रिडमा ८५ मिलियन पाउण्डमा अनुबन्ध भएका थिए । त्यसबेला उक्त रकम विश्व कीर्तिमानी थियो । रियलसँगको सम्झौता बेलको अझै तीन वर्ष बाँकी छ ।

रियलमा बेलले चारवटा च्याम्पियन्स लिग, समान १–१ ला लिगा र कोपा डेल रेको उपाधि जितेका छन् । यस्तै रियलमै बेलले ३–३ पटक युएफा सुपर लिग र क्लब विश्वकपको उपाधिसमेत जितेका छन् ।

चारवटा च्याम्पियन्स लिगको फाइनलमा बेलले तीन गोल गर्नुका साथै एक पेनाल्टी गोलसमेत गरेका थिए । बेलले २०१४, २०१६, २०१७ र २०१८ को च्याम्पियन्स लिगको उपाधि रियलबाट जितेका छन् ।

इञ्जुरीका कारण पछिल्ला चार सिजनमा बेल लालिगामा ७९ खेलमात्रै देखिएका थिए । गत सिजनमात्रै रियलका लागि उनले ४२ खेल खेलेका थिए । तर धेरैपटक क्लबका समर्थकहरूले बेलले क्लब छाड्नुपर्छ भन्दै नारा लगाए ।

टेलिग्राफका अनुसार रियल म्याड्रिडले बेलसँग ट्रान्सफर रकम मागेका कारण उनको चीन जाने योजना रद्द भएको हो । यस्तै रियलका अग्रपन्तिका खेलाडी मार्को एसेन्सियोको चोटका कारण पनि रियलले बेललाई क्लबमै राख्न चाहेको हो । इञ्जुरीका कारण एसेन्सियोले आगामी सिजनका अधिकांश खेल गुमाउने पक्का भएको छ ।

गत मार्चमा जिनेदिने जिदानले रियलको प्रशिक्षकमा पुनरागमन गरेका थिए । उक्त घटनालाई बेलका एजेन्ट जोनाथन ब्रानेटले ‘खराब समाचार’ भनेका थिए । किनकी जिदानले बेलको खेल्ने शैलीप्रति जिदानले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । तर रियलका अध्यक्ष फ्लोरेन्टो पेरिजले भने सधैँ बेलको बचाउ गरे ।

रियलले घरेलु लिगमा गत वर्ष २० वर्षयताकै खराब प्रदर्शन गर्दा बेलले सिजनको अन्त्यमा चोटका कारण बेन्चमा बिताएका थिए । गत सिजन रियलले १२ हारसहित ६८ अंकमात्रै जोड्न सकेको थियो । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १९ अंकले पछि पर्दै तेस्रो स्थानमा रहेको थियो । 

वेल्सका लागि कीर्तिमानी गोल स्कोरर बेलले ७७ खेलमा ३१ गोल गरेका छन् । रियलका लागि यस सिजनको प्री–सिजनको पहिलो खेलमा जिदानले बेललाई मौका दिएनन् । जुलाई २१ मा भएको खेलमा रियल वायर्न म्युनिखसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।

उक्त खेलपछि जिदानले भनेका थिए, ‘मलाई आशा छ हामीले बेललाई छिटै छोड्नेछौं । त्यो नै सबैका लागि उपयुक्त हुन्छ । हामी नयाँ टिमसँग उनको ट्रान्सफरमा काम गरिरहेका छौं ।’ जिदानको प्रतिक्रियापछि बेलका एजेन्ट बर्नटको भनाइ थियो, ‘जिदानले अपमान गरेका छन् । रियलका लागि निकै धेरै योगदान पु¥याएका खेलाडीलाई उनले सम्मान देखाएनन् ।’

प्री–सिजनको आर्सनलविरुद्धको दोस्रो खेलमा भने बेल परिवर्तित खेलाडीका रूपमा मैदान छिर्दै गोल गर्न सफल भए । निर्धारित समयको खेल २–२ को बराबरीमा रोकिए पनि पेनाल्टीमा रियलले जित हात पारेको थियो । यस्तै एट्लिटिको म्याड्रिडसँग ७–३ को हार ब्यहोर्दासमेत बेलले सुरुवाती टोलीमा मौका पाएका थिएनन् ।