पासवर्डकी कोड सन्नी

काठमाडौं । अहिले नेपाली चलचित्रले राम्रो बजार नपाइरहेका बेला चलचित्रका निर्माता अनेक फण्डा गरेर भए पनि चलचित्र चलाउन चाहन्छन् । प्रदर्शन मितिअघि चलचित्रमा अभिनय गरेका कलाकारको विषयलाई सञ्चारमाध्याम तथा सामाजिक सञ्जालमा ल्याउने र यत्रतत्र बनाउने फण्डा प्रायः चलचित्रले गरिरहेका हुन्छन् । 

दर्शकसम्म जसरी पनि सूचना पु¥याउनुपर्छ भन्ने निर्माताको सोंचमा त छ तर चलचित्र नै राम्रो बनाइयो भने कम प्रचारले दर्शक तान्न सकिन्छ भन्नेतिर ध्यान दिइएको भने फिटिक्कै देखिँदैन । यसैबीच आगामी भदौ २७ गतेबाट नेपाली चलचित्र ‘पासवर्ड’ प्रदर्शनमा आउँदैछ । यसमा बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनले एक आइटम गीतमा डान्स गरेकी छन् । जुन युट्युवमा सार्वजनिक भइसकेको छ । 

चलचित्रमा नेपाली कलाकारहरूको कुरा गर्दा अभिनेता द्वय अनुपविक्रम शाही र विक्रम जोशीलाई राखिएको छ । उनीहरूको मुख्य भूमिका छ । चलचित्रमा सन्नीबाहेकका कलाकार हेर्ने हो भने केही मात्रामा अनुहार चलेको भन्ने हो भने अनुपविक्रमलाई लिन सकिन्छ तर उनीबाहेक धेरै दर्शक सामू अपरिचित कलाकार नै हुन् । 

चलचित्र निर्माण टिमले पनि सन्नीले चलचित्रमा नृत्यमात्र गरेको भए तापनि प्रचारमा सन्नीकै नाम र तस्वीर अगाडि सारिएको छ । ‘पासवर्ड’को हालैमात्र सार्वजनिक पोष्टरमा पनि सन्नीकै तस्वीर हाबी भएको देखिन्छ । झट्ट हेर्दा हलिउड चलचित्रको पोष्टरजस्तो देखिन्छ । महँगो रकम तिरेर बलिउडका कलाकारलाई नचाउने तर फाइदा शून्य देखियो भने तिनै निर्माताले अर्को नेपाली चलचित्र बनाउन सक्लान कि नसक्लान् ? प्रश्न उठेको छ । 

एउटा चलचित्र निर्माण गर्न करोडौं लगानी गर्ने तर आधा रकम एउटै कलाकारलाई दिँदा चलचित्रको प्रचारमा फाइदा होला भन्न पूर्णरूपमा सकिँदैन । बुझिएनुसार एक गीतमा मात्र नाचेकी सन्नीका लागी नेपाली ३ करोड रुपैयाँ दिइएको छ । चलचित्रमा सन्नीलाई हेर्नकै लागि हलसम्म दर्शकको भीड लाग्ला कि भन्ने निर्माण टिमको आँकलन छ । यसरी हेर्दा निर्माण टिमले ‘पासवर्ड’को मुख्य कोडको रूपमा सन्नीलाई नै लिएको देखिन्छ अर्थात् सन्नीले दर्शक तान्न सक्नेमा पूर्ण भरोसामा छ ।

सम्राट बस्नेतले निर्देशन गरेको यो चलचित्रको एक पोष्टरमा रविन्द्र झा, बुद्धि तामाङ, प्रवीण खतिवडा, लिशा सुनार, विक्रान्त बस्नेतलगायत कलाकारलाई पनि पोष्टरमा स्थान दिइएको छ । सौरभ लामाले खिचेको यो चलचित्रमा धीरेन शाक्य, परी राणा, छुल्ठिम गुरुङलगायत कलाकारको अभिनय छ । 

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा अजित के थापा सहनिर्माताको रूपमा छन् ।