डुबान समस्याको दीर्घकालीन सामाधानमा जोड

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले मधेसमा आएको बाढी र डुबानका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग छलफल गरेका छन् । प्रदेशका भौतिकमन्त्री जितेन्द्र सोनलसहित ऊर्जा मन्त्रालय पुगेका मुख्यमन्त्री रावतले मधेसमा भइरहेको बाढी डुबानको विषयमा मन्त्री पुनसँग छलफल गरेका हुन् । मन्त्री पुनले मधेस डुबानको दीर्घकालीन समाधानका लागि एकीकृत योजना बनाउने प्रस्ताव गरे । उनले बाढी र डुबान समस्यालगायत प्राकृतिक प्रकोपविरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नुपर्ने उनको धारणा थियो ।

मन्त्री पुनले प्रदेश २ बाढी डुबानबाट सबैभन्दा बढी प्रभावित भएको भन्दै स्थानीय जनतासँगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताए । उनले भने, ‘डुबानको जरो कुरा पत्ता लगाउन एकीकृत योजना बनाएरै अघि बढौ, दुवै सरकारबीच समन्वय गरेर एकीकृत योजना बनाएमात्र दीर्घकालीन समस्या समाधान हुन्छ, नभए राज्यले हरेक वर्ष लगानी गरेर फाइदा हँुदैन ।’

उनले तत्कालीन समाधानले राज्यको अर्बौं रकम खेर गएको भन्दै समस्या समाधानका लागि एकीकृत योजना बनाउनुको विकल्प नभएको बताए । प्रदेश २ का मुख्यमन्त्री राउतले मधेसम डुबानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने बताए । उनले टालटुले समाधानले समस्याको हल नभएको भन्दै केन्द्र सरकारले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए ।

मुख्ययमन्त्री रावतले केन्द्र सरकारको ध्यान ठूला नदी व्यवस्थापनमा मात्र गएको भन्दै मधेसमा रहेका साना नदीले पनि धेरै क्षति पु¥याउने गरेको बताए । उनले ऊर्जा मन्त्री पुनसँग मधेसमा बाढी र डुबानका कारण अर्बौंको धनजनको क्षति भएको भन्दै आगामी दिनमा समस्या समाधानका लागि दीर्घकालीन योजना बनाइदिन आग्रह गरेका छन् ।