मुम्बई जलमग्न, हजारौं यात्रु अलपत्र

नयाँदिल्ली । भारतीय अधिकारीले मुम्बईनजिकै बाढीमा फसेको एक रेलबाट एक हजार ५० जनाको सकुशल उद्धार गरेका छन् । शुक्रबार राति भान्गानीमा जलमग्न लिकमा अड्केको महालक्ष्मी एक्स्प्रेस रेलबाट यात्रुहरूलाई निकाल्न हेलिकप्टर, डुंगा र गोताखोरहरू परिचालन गरिएको थियो । यात्रुहरूले आफूहरूलाई रेलमै रहन भनिए पनि १५ घण्टा खाना वा पानी नपाएको आइएएनएस समाचार संस्थालाई बताएका छन् । दक्षिण एशियामा मनसुनका कारण आएको बाढीले छ सयभन्दा धेरैको मृत्यु भइसकेको छ । घटनाका तस्वीरमा यात्रुलाई डुंगाहरूमा उद्धार गरिएको देखिन्छ । सेन्ट्रल रेलवेले नौजना गर्भवति महिलासहित सबै यात्रुको सकुशल उद्धार गरेर सुरक्षित स्थलमा पु¥याइएको बताएको छ । 

घटनास्थल नजिकै खाना र औषधिसहितको अस्थायी बसोवासस्थल बनाइएको थियो । रेलवेका एकजना प्रवक्ताले प्रभावित यात्रुहरूलाई बाँकी यात्राका लागि वैकल्पिक व्यवस्था गरिएको बताएका छन् । बदलापुर, उल्लासनगर र भान्गानी शहरका थुप्रै भूभागहरू वर्षाका कारण जलमग्न भएको बताइएको छ । वर्षा र बाढीका कारण मुम्बईका अन्य यातायात पनि प्रभावित भएका छन् । मुम्बईमा ११ उडान रद्द गरिनुका साथै थुप्रै उडानहरू फर्काइएको छ ।