क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका दातुक सेरी अनवर इब्राहिमले आगामी बजेट २०२७ को मुख्य प्राथमिकता नागरिकहरूको बढ्दो जीवनयापन खर्च र महँगीलाई कम गर्नु रहेको बताएका छन्।
आर्थिक वृद्धिको लाभ आम जनताको दैनिक जीवनस्तर सुधारमा पुऱ्याउने प्रतिज्ञा गर्दै उनले बजेटले विपन्न र मध्यमवर्गीय परिवारलाई राहत दिने स्पष्ट पारे। यो बजेट शुक्रबार मलेसियाको संसदमा प्रस्तुत गरिने तयारी छ।
प्रधानमन्त्री अनवरका अनुसार सरकारले देशको आर्थिक विकासलाई तीव्र बनाउँदै त्यसको वास्तविक प्रतिफल नागरिकको भान्सा र दैनिक आवश्यकतामा देखिने गरी काम गरिरहेको छ।
महँगी नियन्त्रणका लागि विभिन्न सहुलियत र लक्षित अनुदानका कार्यक्रमहरू बजेटमा समावेश गरिने संकेत गर्दै उनले जनताको क्रयशक्ति बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
बजेट २०२७ प्रधानमन्त्री अनवरले शुक्रबार, ९ अक्टोबर २०२६ का दिन दिउँसो ३ः३० बजे संसद्मा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यो अनवर नेतृत्वको मदानी सरकारको पाँचौँ बजेट भाषण हुनेछ।




















