इस्लामावाद । २०१६ मा अमेरिकी राष्ट्रपतिमा कट्टर राष्ट्रवादी नेता डोनल्ड ट्रम्प निर्वाचित भएपछि पाकिस्तानलाई दिँदै आएको सैन्य आर्थिक सहयोगमा कटौती गरेको अमेरिकाले यस्तो सहयोग फेरि सुरु गरेको छ ।
आतंकवादविरुद्धको लडाइँका लागि भन्दै अमेरिकाले पाकिस्तानलाई वर्षेनी अर्बांै डलर सहयोग गर्दै आएको थियो । तर ट्रम्पले पाकिस्तानले त्यस्तो सहयोगको दुरुपयोग गरेको भन्दै कटौती गरेका गरेका थिए । हालै पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणपछि वासिंटनले पाकिस्तानलाई आर्थिक सहयोग दिने अनुमान गरिएको थियो । अपेक्षित अनुमानअनुसार अमेरिकाले पाकिस्तानलाई सैन्य आर्थिक सहयोग दिन सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार अमेरिकाले पहिलो किस्ताका रूपमा पाकिस्तानलाई १२५ मिलियन अमेरिकन डलर सहयोग दिने भएको हो ।
इमरान खान र ट्रम्पबीच हृवाइट हाउसको ओभल अफिसमा द्विपक्षीय वार्ता भएको एक हप्ताभित्रै अमेरिकाले सैन्य सहयोग सुरु गरेको हो । पहिलो किस्ताका रूपमा अमेरिकाले पाकिस्तानलाई दिइने सहयोग अमेरिकी कम्पनीले निर्माण गरेको एफ–१६ लडाकु विमानको निगरानी तथा सञ्चालनमा खर्च हुने बताइएको छ ।
अमेरिकी लडाकु विमान एफ–१६ चौथो पुस्ताको सबैभन्दा खतरनाक लडाकु विमान मानिन्छ । अमेरिकाले पाकिस्तानलाई दिएको यस्तो सहयोगले पाकिस्तानको सैन्य क्षमता अझै बढ्ने विश्वास गरिएको छ । अमेरिकाले पाकिस्तानलाई एफ–१६ लडाकु विमान यस्तै सैन्य सहयोग अनुसार दिएको थियो । हालै भारत र पाकिस्तानबीच भएको हवाई कारबाहीमा पाकिस्तानले यही विमानको प्रयोग गरेको भारतले दाबी गरेको थियो ।
यद्यपि पाकिस्तानले भने सो विमानको उपयोग नगरिएको जनाउँदै आएको छ । स्मरण रहोस् गएको फेब्रुवरी २६ मा भारतले पाकिस्तानको बालाकोटमा र २७ फेब्रुवरीमा पाकिस्तानले भारत नियन्त्रित कश्मीरमा हवाई कारबाही गरेका थिए । सो क्रममा पाकिस्तानले एक भारतीय लडाकु विमान खसालिदिएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खान गर्त वर्ष पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएसँगै देशको आर्थिक अवस्था सुधार गर्ने लक्ष्यमा दृढ देखिएका छन् । आर्थिक रूपमा कमजोर बनिरहेको पाकिस्तानलाई गति दिन भन्दै पाकिस्तानले अन्तर्राष्ट्रि मुद्रा कोषबाटसमेत ठूलो ऋण लिएको छ । इमरानले साउदी अरेबिया तथा चीनबाट पनि आर्थिक सहयोग जुटाएका छन् ।
अमेरिकाको रोकिएको सहयोग पनि फेरि सुरु गराउन उनी सफल भएका छन् । आर्थिक रूपमा कमजोर बन्दै गएको पाकिस्तानको ठूलो बजेट सैन्य क्षेत्रमा खर्च हुन्छ । अमेरिकाले सैन्य क्षेत्रका लागि आर्थिक सहयोग गरेपछि पाकिस्तानलाई राहत भएको छ ।
गएको हप्ता वासिंटनको भ्रमण गरेका इमरानले अमेरिकासँग उतारचढावपूर्ण रहेको सम्बन्धलाई सुधार गर्न सफलता पाएको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपतिसँग खुलेर छलफल भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले कश्मीर मुद्दामा मध्यस्थता गर्न रुचि देखाएको विषयलेसमेत पाकिस्तान खुशी देखिएको छ भने भारत चिढिएको छ ।
भारतले कश्मीर मामिला द्विपक्षीय भन्दै अन्तर्राष्ट्रिय मञ्चमा यो मामिलामा छलफल नगर्ने बताउँदै आएको छ । तर इमरानको वाशिंटन भ्रमणले यो विषय अन्तर्राष्ट्रियकरण गर्न पाकिस्तान सफल भएको उसको बुझाइ छ ।


















