मलेसियामा नेपाली सुरक्षा गार्ड र गार्डको रोजगारी जोगाउन श्रम कूटनीतिक पहल आवश्यक।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको सुरक्षा क्षेत्र “सेक्युरिटी गार्ड” मा लामो समयदेखि कार्यरत नेपाली सुरक्षा गार्डको रोजगारी अवसर संरक्षण गर्न र नेपाली सुरक्षागार्ड लाई बचाउन नेपाल सरकारले तत्काल श्रम कूटनीतिक पहल गर्नुपर्ने देखिएको छ।

मलेसियामा नेपाली पुरुषलाई सुरक्षा गार्डका रूपमा काम गर्ने अनुमति कायम रहे पनि विदेशी श्रमिकसम्बन्धी नीति र श्रम बजारमा देखिँदै गएको प्रतिस्पर्धाका कारण भविष्यमा नेपाली जनशक्तिको रोजगारी प्रभावित हुन सक्ने चिन्ता बढेको छ। विशेषगरी अन्य श्रमिक स्रोत मुलुकबाट मलेसियाको सुरक्षा क्षेत्रमा प्रवेशका लागि भइरहेको पहललाई नेपालले समयमै गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ।

नेपाली सुरक्षा जनशक्तिको अनुशासन, अनुभव र विश्वसनीयताका कारण मलेसियामा उनीहरूको लामो समयदेखि माग रहँदै आएको छ। त्यसैले हाल कायम रहेको रोजगारी अवसरलाई केवल वैदेशिक रोजगारीको विषय नभई नेपालको महत्वपूर्ण रोजगारी स्रोतका रूपमा संरक्षण गर्न आवश्यक छ।

नेपालमा तत्काल ठूलो संख्यामा वैकल्पिक रोजगारी सिर्जना हुन नसकेको अवस्थामा विदेशमा रहेका रोजगारीका अवसर गुम्नुको प्रत्यक्ष असर नेपाली परिवार र अर्थतन्त्रमा पर्न सक्छ। त्यसैले श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र मलेसियास्थित नेपाली दूतावासले मलेसिया सरकारसँग तत्काल समन्वय गरी नेपाली सुरक्षा गार्डको रोजगारी निरन्तरताका लागि स्पष्ट पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।

रोजगारी जोगाउनेसँगै नेपाली सुरक्षा गार्डको तलब, काम गर्ने समय, बिदा, आवास र श्रम अधिकार सुनिश्चित गर्न पनि नेपालले प्रभावकारी श्रम कूटनीति अघि बढाउनुपर्ने देखिन्छ।आज सुरक्षित रहेको रोजगारी भोलि गुम्न नदिन नेपालले समयमै पहल गर्न आवश्यक छ।