मुम्बई := भारतीय चलचित्र “बलिउड”का चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको गोवामा निधन भएको हो। उहाँका छोरा मल्हार पाटेकरले निधनको पुष्टि गर्नुभएको छ।
चार दशकभन्दा लामो अभिनय यात्रामा नाना पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा प्रभावशाली भूमिका निर्वाह गर्नुभएको थियो। ‘परिन्दा’, ‘प्रहार : द फाइनल अट्याक’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चलचित्रमा उहाँको अभिनय चर्चित रह्यो।
सन् १९७८ मा ‘गमन’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका पाटेकरले ‘शक्ति : द पावर’, ‘अब तक छप्पन’, ‘अपहरण’ र ‘ट्याक्सी नम्बर ९२११’ जस्ता चलचित्रमा पनि उल्लेखनीय अभिनय गर्नुभएको थियो। पछिल्लो समय उहाँ विशाल भारद्वाज निर्देशित ‘ओ’रोमियो’मा देखिनुभएको थियो।
शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा रहेको उक्त चलचित्रमा उहाँले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गर्नुभएको थियो। त्यसैगरी, अनिल कपुर अभिनीत ‘सुबेदार’मा पनि उहाँको अभिनय रहेको थियो। पछिल्ला वर्षहरूमा उहाँ ‘हाउसफुल–५’ र ‘वनवास’मा समेत देखिनुभएको थियो।
चलचित्र तथा कला क्षेत्रमा पुर्याएको योगदानका लागि भारत सरकारले सन् २०१३ मा उहाँलाई पद्मश्रीबाट सम्मान गरेको थियो। नाना पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रले चार दशकभन्दा लामो समयदेखि प्रभावशाली अभिनयमार्फत दर्शकको मन जितेका एक प्रतिभाशाली कलाकार गुमाएको छ।




















