नेपाली सुरक्षागार्डको पासपोर्ट नदिने कम्पनीविरुद्ध दूतावास एक्सनमा, PIKM सँग छलफल।

क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास, क्वालालम्पुर र मलेसियाको सुरक्षा उद्योगसँग सम्बन्धित संस्था पेरसातुआन इन्डस्ट्री केसेलामातान मलेसिया (PIKM) बीच नेपाली सुरक्षा गार्डका समस्या तथा पासपोर्ट फिर्तासम्बन्धी विषयमा गम्भीर छलफल सम्पन्न भएको छ।

स्रोतले दिइएको जानकारी अनुसार बैठक तथा छलफलमा  नेपाली राजदूतावासले PIKM मा आधिकारिक रुपमा आबद्ध तथा दर्ता भएका वैधानिक सुरक्षागार्ड कम्पनीहरूले नेपाली सुरक्षा गार्डको ओरिजिनल राहदानी पासपोर्ट अनिवार्य रूपमा सम्बन्धित कामदारलाई नै फिर्ता गर्नुपर्ने धारणा राखेका थिए।

जवाफमा PIKM ले भने, “मलेसियाको गृह मन्त्रालय “KDN” ले सुरक्षागार्ड कम्पनीहरूले कामदारको पासपोर्ट अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने सम्बन्धमा कुनै औपचारिक आदेश वा निर्देशन प्राप्त नभएको जिकिर गरेको थियो।”

राजदूतावासले भने गृहमन्त्रालय KDN र मलेसियाली अध्यागमन विभाग (इमिग्रेसन) लगायत सम्बन्धित निकायहरूले पनि विदेशी कामदारको पासपोर्ट कामदारकै साथमा हुनुपर्ने धारणा आधिकारिक रुपमै सार्वजनिक गरिसकेको उल्लेख गर्दै सुरक्षा उद्योगको क्षेत्रमा पनि यसलाई कार्यान्वयन गर्न PIKM ले सक्दो सहजीकरण गर्नुपर्ने बताएको थियो।

राहदानी श्रमिकको व्यक्तिगत पहिचान र अधिकारसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण कागजात भएकाले त्यसलाई कम्पनीको नियन्त्रणमा राख्ने प्रवृत्ति छिटोभन्दाछिटो अन्त्य गर्नुपर्ने दूतावासको स्पष्ट धारणा छ्।

बैठकमा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डहरूले भोग्दै आएका तलब, मासिक बिदालगायत विभिन्न समस्या, रोजगारीको अवस्था, श्रम अधिकार तथा अन्य व्यावहारिक कठिनाइबारे समेत छलफल भएको थियो।

नेपाली सुरक्षा गार्डसँग सम्बन्धित समस्याहरूलाई थप गम्भीरताका साथ छलफल गरी समाधानको बाटो खोज्न राजदूतावास र PIKM बीच पुनः अर्को बैठक बस्ने सहमति भएको छ। आगामी बैठकबाट समस्याहरूको ठोस निष्कर्ष निकाल्ने प्रयास गरिने राजदूतावास स्रोतले जनाइएको छ।