प्रधानमन्त्रीले बुद्धि बंगारो फुस्किएको किस्सा सुनाएपछि……

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा आफ्नो बुद्धि बंगारो फुस्किएको किस्सा सुनाउँदै आफू अस्थायी बिरामी भएको बताए । शनिबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीको आकस्मिक तथा बहिरंग सेवा भवन उद्घाटन गर्दै उनले शुक्रबार साँझ आफ्नो बुद्धि बंगारो फुस्किएको बताएका हुन् ।

कार्यक्रममा ढिलो गरी पुगेका प्रधानमन्त्री ओलीले ढिलो आउनुको कारण प्रस्ट पार्ने क्रममा बुद्धि बंगारो फुस्किको किस्सा सुनाएका हुन् । उनले कार्यक्रममा उपस्थित नहुने सोचका साथ सुतिरहेको भए पनि आउन कर गरेका कारण ढिलोगरी आएको प्रस्टीकरण दिए । ‘म ६७ वर्ष पूरा हुन लागेँ, हिजो बेलुका मेरो दाहिनेपट्टिको माथिल्लो पट्टिको बुद्धि बंगारो आफैं खुस्कियो,’ उनले भने, ‘१०१ वर्षमा मेरो हजुरआमा मकै भटमास, भुटेको मकै भटमास चपाउनुहुन्थ्यो, संयोग कस्तो परेछ, मेरो चाहिँ हिजो बेलुका मात्रै दाहिनेपट्टिको माथिल्लो पट्टिको बुद्धि बंगारो, छामी हेरें जरा पनि छैन । रगत पनि आएन । कति अशक्त भएको रहेछ ।’

स्वास्थ्य त्यति राम्रो नभएका कारण कार्यक्रममा नआउने भनेर आफू बिहानभरि सुतिरहेको जानकारीसमेत दिए । कार्यक्रममा झण्डै एक घण्टा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले लामो समय बोलेकै कारण ‘नक्कली बिरामी’ का रूपमा चर्चा होला कि भनेर बुद्धि बंगारो फुस्किएको किस्सा सुनाएको प्रस्ट्याए । उनले भने, ‘नक्कली चाहिँ होइन, यो अस्थायी बिरामी हो ।’

प्रधानमन्त्री ओलीले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले कसैलाई भेदभाव नराखी उपचार गर्ने विश्वास व्यक्त गरे । ‘यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई सबैलाई समान भावले उपचार गर्नेछ,’ उनले भने, ‘अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानवजातिको रूपमा उपचार गर्नुपर्दछ ।’

२०५१ सालमा आफू गृहमन्त्री भएको बेला यस अस्पतालको निर्माणको प्रस्ताव आएको स्मरण गर्दै उनले भने, ‘हृदय रोग उपचार केन्द्र निर्माण गरौंं भनेर डा. अरुण सायमीजीले प्रस्ताव ल्याउँदा म धेरै खुसी भएको थिएँ, भयावह हुँदै गरेको मुटु रोगको उपचार हुन सहज भएपछि धेरै जनाको ज्यान बच्ने भयो भनेर पनि मेरो मन रमाएको थियो ।’

यस प्रकारका उच्च प्रविधियुक्त अस्पतालहरूले हामीलाई विद्वान् पुर्खाको विरासततर्फ फर्काएको बताउँदै उनले नेपालीका पुर्खा विद्वान् भएका थुप्रै प्रमाण रहेको प्रस्ट पारे । ‘पुर्खाहरूले प्रयोग र अनुभवबाट जडीबुटीलाई औषधिको रूपमा प्रयोग गरे । त्यतिबेला कुनै प्रयोगशाला थिएनन् । त्यसकारण जडीबुटीहरूलाई आफ्नै शरीरमा प्रयोग गरेर औषधि र विष छुट्याउने हाम्रै पुर्खा हुन् ।’ हाम्रा पुर्खाहरू अन्धविश्वासमा नभएर प्रयोगमा विश्वास गर्ने स्वभावका रहेको उनले बताए ।

पुर्खाको विद्वता र ज्ञानलाई वर्तमान पुस्ताले पुनप्र्राप्ति गर्न थालेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामीसँग पुर्खाहरूको जेनेटिक मेमोरी पनि छ । त्यसकारण पनि हामीलाई विद्वताका कुराहरू ग्रहण गर्न समय लाग्दैन,’ उनले भने, ‘औषधि उपचार र अंग प्रत्यारोपणमा हामीले पाएको सफलता त्यसकै एउटा उदाहरण हो ।’

कार्यक्रममा सो अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले मुटु रोगीको उपचारलाई ध्यानमा राखेर स्थापना गरेको यो केन्द्रले धेरै मुटुरोगीको उपचार गरी नयाँ जीवन प्रदान गरेको बताए ।