काठमाडौं । चक्रपथ कलंकी कोटेश्वर सडकखण्ड देख्दा जति राम्रो छ त्यति नै जोमिखयुक्त रहेको छ । फराकिलो र सुन्दर देखिने सडकको जति चर्चा छ जोखिम पनि उत्तिकै धेरै देखिन्छ ।
कलंकी कोटेश्वर सडकखण्डमा ११ महिनायता ७० वटा सवारीसाधन दुर्घटनामा परेका छन् भने २४ जनाले ज्यान गुमाएका र २०१ जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी माहाशाखाका अनुसार सडक व्यवस्थापन राम्रो नहुँदा जोखिम बढ्दै छ । काठमाडौं उपत्यकाभित्रै अझै पनि पर्याप्त मात्रमा पैदल यात्रुको लागि बाटो काट्न पुल र जेब्राक्रसिङ बन्न सकेका छैनन् । त्यसैमाथि अहिले विस्तार गरिएको कलंकी–कोटेश्वर सडक खण्डमा यात्रुले जेब्राक्रसिङ बिना नै बाटो काटिरहेका छन् । कलंकी कोटेश्वर सडक खण्डको हाल सातदोबाटो, कोेटेश्वर, ग्वार्कोे, सानेपा, बल्खु र कलंकीमा मात्र जेब्राक्रसिङ बनाउने तयारी रहेको छ भने धेरै ठाउँमा मार्किङसमेत सुरु नभएको सडक विभागको भनाइ छ ।
हाल काठमाडौं उपत्यकामा लगभग ५५० वटा जेब्रा क्रसिङ भएको श्रेष्ठले बताए । उनले भने, ‘विभिन्न बहानामा धेरै यात्रुको भिड हुने स्थानमा समेत जेब्राक्रस र आकाशे पुल नहुनु नै दुर्घटनाको मुख्य कारण हुने गरेको छ ।’ हाल कलंकी कोटेश्वर सडक खण्डमा कुनकुन स्थानमा जेब्राक्रसिङ थप्नुपर्ने भनेर अध्ययन गरिरहेको र आवश्यक पर्ने ठाउँमा निर्माण गर्ने योजना विभागको रहेको छ । तर, अन्य ठाउँमा भने अहिले जेब्राक्रसिङ थप्ने योजना नभएको श्रेष्ठ बताउँछन् ।
सडक फराकिलो र सुन्दर भएर मात्र नहुने र सुरक्षाका लागि आवश्यक पूर्वाधारहरू समेत निर्माण गर्नुपर्ने उनको भनाइ छ । श्रेष्ठका अनुसार सडक निर्माण गर्ने आयोजनाले नै जेब्राक्रसिङ समेत राखेर सडक हस्तान्तरण गर्नुपर्ने र आवश्यकताअनुसार सडक विभागले त्यसलाई पुनर्निर्माण गर्नुपर्ने भए पनि आयोजनाले काम नगरेकोले गाह्रो भएको उनी बताउँछन् ।
लापरबाहीसँगै बाध्यताले गर्दा पनि अहिले सर्वसाधारण सडक प्रयोग गर्दा धेरै जोखिममा हुने गरेका छन् । सहज र फराकिलो सडक निर्माणले सबैलाई सजिलो बनाउने भए पनि सडकमा आवश्यक पर्ने पूर्वाधार नहुँदा यात्रुले भने जोखिम र सास्ती दुवै भोग्दै आएका छन् । सडकमा कतै जेब्राक्रसिङ नहुँदा जुनसुकै स्थानबाट पनि सर्वसाधारणले बाटो काट्दै आइरहेका छन् भने जोखिम मोलेरै यात्रा गरिरहेका देखिन्छन् । उपत्यकाभित्रका केही ठाउँमा भने आकाशे पुल निर्माण गरिएको भए पनि कोटेश्वर, ग्वार्को र बागडोलमा मात्र आकाशे पुल निर्माण भएका छन् । आकाशे पुलको निर्माणको योजना अझै विभिन्न ६ ठाउँमा भए पनि कहिले काम सुरु गर्ने र कहिले सञ्चालनमा आउने अझै टुंगो नलागेको विभागको भनाइ छ ।
हाल काठमाडौं मा ७ सयभन्दा धेरै जेब्राक्रसिङ हुनपर्नेमा ५५० मात्र रहेको विभागको भनाइ छ । कुनै स्थानमा जेब्राक्रसिङ नै छैनन् भएका ठाउँमा मेटिन लागिसकेका छन् । अहिले बनेका आकाशे पुल प्रयोग गर्न सर्वसाधारणले एकपुलबाट अर्को पुल पुग्न ३ किलोमिटर पैदल प्रयोग गर्नुपर्ने समस्या रहेको विभागले बताएको छ ।



















