रंगशाला निर्माणका लागि सहयोग समिति गठन

चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । 

मंगलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिकास्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको हो ।

समितिमा जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायत छन् । गाउँपालिका अध्यक्ष गुरुङले समग्र जिल्लाको गौरवका लागि सबै मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । 

जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रंगशाला निर्माणको सहयोगका लागि चितवनका सबै स्थानीय तहमा समिति गठन गरिने बताए । सामाजिक अभियानकर्मी कलाकार ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्षभित्रै क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने बताए । उनले सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै आफ्नो मानसपटलमा रंगशाला निर्माण सम्पन्न भइसकेकाले कुनै द्विविधा नराख्न आग्रह गरे । 

समिति निर्माणका लागि गाउँपालिकामा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सहित जिल्ला समन्वय समितिका प्रमुख डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष यामबहादुर परियार र नेपाली कांग्रेसका सभापति जीतनारायण श्रेष्ठलगायतको उपस्थिति थियो । 

यसअघि रंगशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय पाँच हजार एक सदस्यीय मूल सहयोग समिति गठन भइसकेको छ । गाउँपालिकाका राजनीतिक दल, संघसंस्था, व्यवसायी र स्थानीयवासीले रंगशाला निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

यसैबीच रंगशालाको निर्माणकार्य मंगलबारबाट पुनः सुरु भएको छ । सडक विस्तारको माग गर्दै केही असन्तुष्ट स्थानीयवासीले जेठ १५ गते रंगशालाको केही तारबार भत्काएपछि निर्माणकार्य स्थगित भएको थियो । त्यसपछि भएको विभिन्न चरणको छलफल र सरोकारवाला पक्षको आग्रहपछि धुर्मुस–सुन्तली फाउण्डेशनले पुनः काम सुरु गरेको हो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस, प्रदेश सांसद विजय सुवेदीलगायतले पुनः रंगशाला निर्माणको कामले निरन्तरता पाएको बताए ।

केही दिनमै जिल्लाका विभिन्न स्थानमा घरदैलो अभियान सञ्चालन गर्ने, प्रतिबद्धता घोषणा भएको रकम जतिसक्दो चाँडो हस्तान्तरण गर्न अनुरोध गर्ने तथा विभिन्न समिति निर्माणलाई पनि तीव्रता दिने फाउण्डेशनले जनाएको छ । रंगशाला निर्माणको लागत तीन अर्ब अनुमान गरिएको छ ।

२३ लाख संकलन 

यसैबीच धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा निर्माण हुनलागेको गौतमबबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि २३ लाख रुपैयाँ सहयोग संकलन भएको छ । 

पूर्वेली समाज चितवनले मंगलबार साँझ अबेर आयोजना गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्था र विभिन्न व्यक्तिले सो रकम बराबरको चेक हस्तान्तरण र बोलकबोल गरेका हुन् । सोमध्ये ११ लाख १० हजार रुपैयाँको चेक फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ भने बाँकी १२ लाख ३५ हजार रुपैयाँ घोषणा भएको छ ।

कार्यक्रमको आयोजक पूर्वेली समाजले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । समाजका अध्यक्ष डिकबहादुर गुरुङले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा तिलचन्द्र भट्टराईले १० लाख रुपैयाँ सहयोग रकम घोषणा गरे ।

घोषित १० लाखमध्ये पाँच लाख रुपैयाँको चेक उनले सोही अवसरमा फाउण्डेशनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गरे भने बाँकी पाँच लाख केही दिनमै उपलब्ध गराइने जानकारी दिए ।

भरतपुर महानगरपालिका–१२ का अध्यक्ष नरेन्द्र कङदङ्वाले पनि व्यक्तिगत तर्फबाट एक लाख तथा श्रीमतीको तर्फबाट १० हजार रुपैयाँ गरी कूल एक लाख १० हजार रुपैयाँको चेक धुर्मुसलाई हस्तान्तरण गरे । झापा घर भई हाल चितवनमा बसोवास गर्दै आएका कुमार डाँगीले रंगशाला निर्माणका लागि फाउण्डेशनलाई पाँच लाख रुपैयाँ सहयोग रकम घोषणा गरेका छन् ।

भरतपुर महानगरपालिका–९ का शिव घिमिरेले एक लाख एक हजार ५५१ रुपैयाँ सहयोग घोषणा गरे । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष कट्टेल, प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, रंगशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीलगायतले सबैलाई रंगशाला निर्माणमा जुट्न आहृवान गरेका थिए ।