काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधिकारिक ट्रेड युनियन खारेज नगरिने प्रस्ट पारेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरूसँग प्रधानमन्त्री ओलीले बाहिर हल्ला गरिएजस्तो सरकारले ट्रेड युनियन खारेज नहुने र सरकारले त्यस्तो कुनै योजना नबनाएको बताए ।
सरकारलाई अलोकप्रिय बनाउन चाहनेहरूले सरकारले कर्मचारी युनियन बन्द गर्न खोज्यो भनेर भ्रम छरेको ओलीको भनाइ छ । ‘कुनै भ्रममा नपर्न आग्रह गर्न चाहन्छु, सरकारको कुनै त्यस्तो दृष्टिकोण छैन र हुँदैन,’ ओलीले भने ।
कर्मचारीको सहयोगबिना सरकार एक्लैले केही गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले कमी कमजोरी भए पनि कर्मचारीले सहयोग गरेकै छैन भन्ने नभएको बताए । उनले अब सिर्जना र योगदानको समय आएको पनि प्रस्ट पारे ।
‘कतिपयले माग राख्नुअघि नै आन्दोलन गर्न सुरु गर्छन्,’ उनले भने, ‘हामीले लोकतन्त्र ल्याइसक्यौं, लोकतान्त्रिक प्रणाली बसालिसक्यौं, अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नुपर्दैन ।’ अब सिर्जनशील काम र देशका लागि योगदान गर्नुपर्ने समय आएको उनको भनाइ थियो ।
कर्मचारी प्रशासन अझ प्रभावकारी, स्वच्छ र सेवाउन्मुख बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले सरकार सुशासन र विकासका निम्ति प्रतिबद्ध रहेको बताए । सरकारको लक्ष्य पूरा गर्नका लागि पनि कर्मचारीहरूले सेवामुखी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । ‘सरकारका हात खुट्टा भनेका कर्मचारी नै हुन्,’ उनले भने ।
प्रधानमन्त्री ओलीले कर्मचारीको सहयोगबिना सरकार एक्लैले केही पनि गर्न नसक्ने बताए । कर्मचारीहरूको उपयुक्त माग पूरा गर्ने आश्वासनसमेत उनले दिए ।
युनियनले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको तहगत प्रणालीअनुसार सेवा सुविधाका लागि बजेटको व्यवस्था गर्न माग गरेको छ ।
युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारी अलपत्र परेकाले त्यसको समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरे ।
उनले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरूको तहगत प्रणालीअनुसारको सेवा सुविधाका लागि आवश्यक बजेटको व्यवस्था गर्न ढिलाइ नगर्न सरकारलाई सुझावसमेत दिए ।
कर्मचारीको टोली बाढीपीडितका लागि राहत रकम सहयोग गर्न प्रधानमन्त्री निवास पुगेको थियो । आधिकारिक ट्रेड युनियनले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।
युनियन र युनियनमा आबद्ध राष्ट्रियस्तरका कर्मचारी संघ, संगठनहरूको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत पीडितलाई दिन हस्तान्तरण गरिएको युनियनका अध्यक्ष ढकालले जानकारी दिए ।
यसैगरी, केडिया अर्गनाइजेसनले बाढी, पहिरो तथा डुबान पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा पुगेका समूहका पदाधिकारीहरूले प्राकृतिक प्रकोपमा परेकाहरूलाई राहत दिने कार्यमा आफूहरू सरकारलाई सहयोग गर्न सधैं प्रतिबद्ध रहेको बताएका थिए ।




















