नयाँ बेलायती प्रधानमन्त्रीको जिम्मेवारी

लण्डन (बीबीसी) । बोरिस जनसन कन्जरभेटिभ पार्टीका नयाँ नेता चयन भएका छन् । बुधवार टरिजा मेले औपचारिक रूपमा राजीनामा दिएपछि उनी प्रधानमन्त्री बन्नेछन् । तर उनले अब के जिम्मेवारी बहन गर्नुपर्नेछ ? प्रधानमन्त्री सरकार प्रमुख हुन् र उनलाई महारानीले नियुक्त गर्नेछिन् । 

बेलायतमा सामान्यतयाः आम निर्वाचनमा विजयी पार्टीको नेता नै प्रधानमन्त्री हुने चलन छ । मन्त्रीहरू नियुक्त गर्नु प्रधानमन्त्रीको काम हो । थोरै सांसदहरूले मात्र मन्त्रीको भूमिका पाउँछन् । वरिष्ठ मन्त्रीहरू मात्र मन्त्रिपरिषद्को सदस्य बन्न पाउँछन् । प्रधानमन्त्रीले कुनै पनि समयमा मन्त्री नियुक्त गर्न र हटाउन सक्छन् । 

उनले मन्त्रालयहरू खारेज गर्न र नयाँ बनाउन पनि पाउँछन् । चान्सलर भनिने अर्थमन्त्रीका साथ प्रधानमन्त्री कर र व्यय नीतिको हर्ताकर्ता पनि हुन् । प्रधानमन्त्रीले नयाँ कानुनहरू ल्याउन पनि सक्नेछन् तर संसद्ले तिनलाई समर्थन गर्नुपर्छ । प्रधानमन्त्री सरकारका सबैखाले नीति र निर्णयहरूका लागि जिम्मेवार हुन्छन् ।

सरकारी निर्णय कार्यान्वयन गर्ने व्यक्ति तथा विभाग रहने नागरिक प्रशासन प्रधानमन्त्रीको समग्र नियन्त्रणमा रहन्छ । प्रशासनले नै नाइटहुड र डेमहुडलगायत मान, पदवी, तक्मा, पुरस्कारबारे निर्णय गर्छन् । तिनीहरूले लर्ड भनिने संसदको माथिल्लो सभाका मनोनित सदस्यहरू पनि नियुक्ति गर्न सक्छन् । 

प्रतिरक्षा र सुरक्षासँग सम्बन्धित धेरै प्रकारका जिम्मेवारी पनि प्रशासनकै हुन्छ । उदाहरणका लागि, उनीहरूसँग युकेको सेनालाई परिचालन गर्ने शक्ति हुन्छ । तर हालैको प्रचलन अनुसार त्यस्तो सेना परिचालनको निर्णयलाई संसदीय अनुमोदन प्राप्त हुनु पर्छ । कतिपय विशेष जिम्मेवारी पनि प्रधानमन्त्रीकै काँधमा हुन्छ । जस्तो कि अपहरणमा परेको वा नचिनिएको हवाई जहाजलाई आक्रमण गरेर खसाल्ने वा नखसाल्ने भन्ने जस्ता निर्णयहरू । उनीहरूले युकेको परमाणु हतियारको प्रयोगलाई पनि अनुमोदन गर्न सक्छन् । यस्तो शक्ति भए पनि बेलायतका प्रधानमन्त्रीले आफूखुशी जे पनि निर्णय गर्न पाउँदैनन् । त्यसका लागि उनले बहुमत सांसदहरूको विश्वासको मत लिनुपर्ने हुन्छ । 

किनकी विधेयक पारित हुन बहुमत सांसदको भोट आवश्यक पर्दछ । यदि सरकार संसदमा पटकपटक पराजित भएमा सांसदहरूले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न सक्छन् । यदि प्रधानमन्त्रीले अविश्वासको प्रस्तावमाथिको संसदीय मतदानमा हारे भने देशमा आमनिर्वाचन गर्नुपर्ने हुन पनि सक्छ । यदि प्रधानमन्त्रीको पार्टीले आमनिर्वाचन हारे भने उनले राजीनामा दिनुपर्छ र विजयी पार्टीको नेतालाई प्रधानमन्त्री बन्न बाटो बनाइदिनुपर्छ । यदि प्रधानमन्त्रीले देशको हितविरूद्ध काम गरेका छन् भन्ने लागेमा, सैद्धान्तिक रूपमा, महारानीसँग प्रधानमन्त्रीलाई बर्खास्त गर्ने शक्ति छ । तर त्यसले संवैधानिक संकट पैदा गर्नसक्छ । 

बोरिस जनसनले कन्जरभेटिभ पार्टीका सांसद र साधारण सदस्य दुवैको समर्थन पाउनु आवश्यक थियो । सुरूमा १० जना टोरी सांसदहरू सम्भावित प्रधानमन्त्रीका रूपमा मनोनित भए । तर कन्जरभेटिभ सांसदहरूको शंखलाबद्ध गोप्य मतदानले त्यो संख्यालाई दुईमा झार्दै बोरिस जनसन र जेरमी हन्टलाई अन्तिम प्रतिस्पर्धी बनाए । टोरी पार्टीका सदस्यहरूले भोट दिनु पूर्वदुवैजना विभिन्न बहसमा सामेल भएका थिए । यसको अर्थ हो करिब १ लाख ६० हजार मानिसले ६ करोड ५० लाख भन्दा बढी जनसंख्याका लागि नेता चुनेका थिए भन्ने हो । बोरिस जनसनले ९२ हजार १ सय ५३ भोट ल्याए भने जेरमी हन्टले ४६ हजार ६ सय ५६ भोट ल्याए । अधिकांश कन्जरभेटिभ पार्टीका सदस्यहरू ५५ वर्षमाथिका छन् र अधिकांश उच्च सामाजिक वर्गबाट आएका छन् । नयाँ प्रधानमन्त्री चयन गर्नका लागि आम निर्वाचन नै हुनुपर्छ भन्ने जरुरी हुँदैन । 

छिमेकी युरोपेली देशहरू र युकेको सम्बन्धको भविश्यलाई परिभाषित गर्ने समाधानका साथ आएका बोरिस जनसनलाई त्यसले निक्कै व्यस्त बनाउनेछ । उनले हालको सम्झौतामाथि पुनः छलफल सुरु गर्ने संकल्प गरेका छन् । जसलाई मेले तीन पटकसम्म संसदबाट पारित गराउन असफल भइन् । ब्रेक्जिटका लागि तोकिएको मिति अगावै एउटा संशोधित सम्झौतामा सहमति हुन्छ भन्ने कुनै प्रत्याभूति छैन । 

तर जनसनले भने ३१ अक्टोबरमा युके नयाँ सम्झौताका साथ वा कुनै सम्झौता विना नै युरोपेली संघबाट बाहिरिने बताएका छन् । प्रधानमन्त्री सन् १७३५ देखि नै बेलायतका प्रधानमन्त्रीको निवास रहँदै आएको लण्डनस्थित टेन डाउनिङ स्ट्रिटमा बस्छन् । तर यस्मा केही अपवाद पनि छन् । सन् १९९७ मा आफ्नो हुर्कँदो परिवार भएकाले टोनी ब्लेयरले १० नम्बरको दाँजोमा केही ठूलो र फराकिलो नम्बर ११ को घर लिएका थिए । यसका अतिरिक्त प्रधानमन्त्रीसँग एउटा सरकारी निवास पनि हुन्छ । चेकर्स भनिने त्यो ग्रामीण आवास उनले जुनसुकै बेला प्रयोग गर्न सक्छन् ।

बोरिस जनसनले एउटा सरकारी प्रधानमन्त्रीय कार पाउँछन् । हालका लागि यो ‘जागुअर एक्सजे सेन्टिनल’ मोडलको रहेको छ जस्लाई प्रधानमन्त्रीको आवश्यकता अनुसार निर्माण गरिएको हो । हालका लागि बेलायतका प्रधानमन्त्रीको वार्षिक तलब १ लाख ५० हजार ४ सय २ पाउण्ड तोकिएको छ ।