लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ । १२ जनाभन्दा बढी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार जिल्लाको पूर्वीभागमा पर्ने दोर्दीखोलामा अचानक आएको बाढीले बगाउँदा चारजनाको मृत्यु भएको हो । उनीहरूको शनाखत हुन सकेको छैन । आधा दर्जनभन्दा बढी घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले मृतकको संख्या बढ्न सक्ने बताएको छ । लिवर्टी इनर्जीमा काम गर्नेहरू बाढीमा परेको बताइएको छ ।
दोर्दी गाउँपालिका–४ का वडाध्यक्ष सुकबहादुर गुरुङले शेरामा दुईजना र कीर्तिपुरमा दुईजनाको शव भेटिएको बताए । उक्त क्षेत्र आसपासका स्थानीय र दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार बाढी आउँदा भागेका थिए । वडाध्यक्ष गुरुङका अनुसार सुपर दोर्दीका लोडर २ थान, ट्याक्टर १ र कम्प्रसर १ थान पनि बाढीले बगाएको छ । त्यस्तै, हिमाल पावरको प्रोडक्सन वाल पनि बगाएको जानकारीमा आएको उनले बताए ।
वडाध्यक्ष गुरुङले पानी कहाँ थुनिएको थियो र कसरी बाढी आयो भन्ने थाहा नभएको बताए । निर्माणको अन्तिम चरणमा रहेको जलविद्युत् आयोजनामा विभिन्न ठेकेदार कम्पनीका कामदारहरू खोलामै काम गरिरहेका थिए ।
हिमालतिर पहिरो खसेर थुनिएको नदी अचानक फुटेपछि बाढी आएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।




















