ट्रम्प–इमरान वार्तामा कश्मीर मुद्दा

वासिंटन  । अमेरिकाले पाकिस्तान र भारतबीच लामो समयदेखि तनावको विषय बनेको कश्मीर मामिलामा मध्यस्थता गर्ने प्रस्ताव गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच सोमबार हृवाइट हाउसमा भएको वार्ताका क्रममा अमेरिकाले यस्तो प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

इमरान खानसँगै प्रेस वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘केही दिनअगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो कुरा भएको थियो । कश्मीरका विषयमा मध्यस्थता गर्न तयार छु । यो अवसर पाए म खुशी हुनेछु ।’ ट्रम्पले कश्मीरका विषयमा मध्यस्थता प्रस्ताव गरेपछि भारतमा भने यो विषयले हंगामा भएको छ । भारतीय विदेश मन्त्रालयले सोमबार राति नै ट्वीट गर्दै कश्मीर भारत र पाकिस्तानको द्विपक्षीय मामिला भएको र यसमा कुनै तेस्रो पक्ष अस्वीकार्य भएको टिप्पणी गरेको छ । 

र भारतले प्रधानमन्त्री मोदीले ट्रम्पसँगको भेटका क्रममा यो विषयमा कुरा नगरेको बताएको छ । भारतले कश्मीर विषयमा कडा टिप्पणी गरेपछि अमेरिकी विदेश मन्त्रालयले मंगलबार ट्वीटरमा टिप्पणी गर्दै कश्मीर भारत र पाकिस्तानको द्विपक्षीय मामिला भएको भन्दै त्यसमा ट्रम्प प्रशासन सहयोग गर्न तयार रहेको बताएको छ । 

अफगान युद्धका कारण अमेरिकासँग सम्बन्धमा उतारचढाव आएका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खान आफ्ना सेना प्रमुख र गुप्तचर प्रमुखलाई साथमा लिएर अमेरिका पुगेका छन् । व्हाइट हाउसमा इमरान र ट्रम्पबीच भएको वार्ता पाकिस्तानका लागि उपलब्धपूर्ण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । 

वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरानले कश्मीर मुद्दा, आतंकवाद र अफगान युद्धबारे ट्रम्पसँग खुलेर कुरा गरेको बताइएको छ । अफगानिस्तानको तालिबान समस्या समधान वार्ताकै माध्यमबाट हुने भन्दै इमरानले केही दिनमै सुखद् नतिजा आउनेसमेत बताएको जनाइएको छ । अमेरिका १७ वर्षदेखि जारी अफगान युद्ध समाप्त गरेर आफ्नो सेना फिर्ता गर्न चाहन्छ । त्यसमा उसले इस्लामावादको सहयोग चाहेको छ । वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई अमेरिकाले दिँदै आएको सैन्य तथा आर्थिक सहयोगमा गरिएको कटौती फिर्ता लिने जनाएको बताइएको छ । आर्थिक रूपले जर्जर बनिरहेको पाकिस्तानका लागि यो सहयोग फेरि सुरु भए जीवनबुटी जस्तै हुने विश्लेषण गरिएको छ । 

यसैबीच अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरूले नै अमेरिकालाई सूचना दिएको बताएका छन् । पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरूलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो । 

अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश गरेर सन् २०११ मे २ तारिखमा गरेको कारबाहीमा बिन लादेन मारिएका थिए । अमेरिकी गोप्य कारबाहीका कारण पाकिस्तान र अमेरिकाबीच लामो समयदेखि विवाद हुँदै आएको छ । पाकिस्तानले अमेरिकामाथि आफ्नो सार्वभौमसत्ता हनन् गरेको आरोप लगाउँदै आएको छ । पाकिस्तानी चिकित्सक शकील अफ्रिदीले खोप अभियानका नाममा बिन लादेन रहेबसेको स्थान पत्ता लगाएका थिए । पाकिस्तानले तिनै चिकित्सक अफ्रिदीमाथि देशद्रोही कार्य गरेको भन्दै जेलमा राखेको छ ।

अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भने, ‘शकिललाई छाड्ने भन्ने विषय निकै भावनात्मक छ, किनभने शकिललाई पाकिस्तानमा जासुसको रूपमा व्यवहार गरिन्छ । हामी पाकिस्तानमा अमेरिकालाई सहयोगी मुलुकको रूपमा लिन्छौं र यदि हामीले नै सूचना दिएको भए हामीले ओसामा बिन लादेनलाई त्यहीबेला अमेरिकाको जिम्मा लगाउनु पथ्र्यो ।’ यस्तै पाकिस्तानी प्रधानमन्त्री इमरानले भारतले आफ्नो परमाणु हतियार नष्ट गरेमा पाकिस्तानले पनि आफ्ना परमाणु हतियार नष्ट गर्ने बताएका छन् । उनले परमाणु युद्धको परिणामप्रति सचेत रहेको भन्दै युद्ध समस्याको समधान नभएको बताएका छन् । तर, भारतले परमाणु हतियार नष्ट नगरेसम्म पाकिस्तानले पनि नष्ट नगर्ने स्पष्ट पारेका छन् ।