काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जहरूको नाम टुंगो लगाएर जिम्मेवारी तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरको इञ्चार्ज र सह–इञ्चार्ज टुंगो लगाएको हो । नेकपाको काठमाडौं जिल्ला इञ्चार्जको जिम्मेवारी सावित्रा भुसालले पाएकी छन् । काठमाडौं महानगरको इञ्चार्ज जीवनराम श्रेष्ठले पाएका छन् । विराटनगर महानगरपालिकामा इञ्चार्ज शिवकुमार मण्डल, वीरगञ्ज महानगरकामा दिनेश राई, भरतपुर महानगरपालिकामा रेणु दाहाल, ललितपुर महानगरपालिकामा सुशीला नेपालीले इञ्चार्जको जिमेवारी पाएका छन् । पोखरा महानगरपालिकामा मानबहादुर जिसीलाई इञ्चार्ज तोकिएको छ ।
इञ्चार्ज मन्त्री र मुख्यमन्त्री
नेकपाले सार्वजनिक गरेको जिल्ला इञ्चार्जको सूचीमा संघीय र प्रदेश सरकारका मन्त्री तथा प्रदेशका मुख्यमन्त्री समेत अटाएका छन् ।
संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काभ्रे जिल्लाको इञ्चार्जको जिम्मेवारी पाएका छन् । भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले स्याङ्जाको इञ्चार्ज र कृषि राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरीको सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट जिल्लाको इञ्चार्जको जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले जुम्लाको र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाश शाह बाजुराको सह–इन्चार्जको जिम्मेवारी पाएका छन् ।
प्रदेश–३ का सबै मन्त्रीहरूले जिम्मेवारी पाएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले धादिङको इञ्चार्जको जिम्मेवारी पाएका छन् । अर्थमन्त्री कैलाश ढुंगेलले रामेछापको, पर्यटनमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले सिन्धुपाल्चोकको सह–इन्चार्जको जिम्मेवारी पाएका छन् ।
यसैगरी, प्रदेश–१ का अर्थमन्त्री इन्द्र आङ्वोले पाँचथर जिल्लाको इञ्चार्ज र प्रदेशमन्त्री जगदीश कुसियतले सुनसरीको सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान तनहुँको र भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत मनाङको इञ्चार्ज बनेका छन् ।
प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी रुपन्देहीको र भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी पश्चिम नवलपरासीको इञ्चार्ज बनेका छन् ।
२ जिल्लामा १० जना सह–इञ्चार्ज
नेकपाले दुई जिल्लामा १० जना सह–इञ्चार्ज बनाएको छ । सिराहा र दाङमा १०–१० जनालाई सह–इञ्चार्ज बनाइएको छ । काठमाडौं महानगर र धनुषामा ९–९ जना र कैलालीमा ८ जना सह–इञ्चार्ज छन् ।
केही जिल्लामा भने सह–इञ्चार्ज तोकिएकै छैनन् । सप्तरी, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा र इलाममा सह–इञ्चार्ज तोकिएका छैनन् । त्यस्तै, नुवाकोट, काभ्रे, मनाङ, पर्वत, म्याग्दी र मुस्ताङ, नवलपरासी पश्चिम, गुल्मी र प्युठानमा सह–इञ्चार्ज तोकिएका छैनन् ।
त्यस्तै, कालिकोट, हुम्ला, सल्यान, डोल्पा, दार्चुला जिल्लाले पनि सह–इञ्चार्ज पाएका छैनन् । सह–इञ्चार्ज नतोकिएका जिल्ला १९ वटा छन् ।
महिला इञ्चार्ज १० जना
कुल ८३ इञ्चार्जमध्ये ८ जिल्ला र दुई महानगरमा गरी १० जना महिलालाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ । स्याङ्जामा मन्त्री अर्याल, तेह्रथुममा जयन्ती राई, रसुवामा विमला सुवेदी, दोलखामा देवी खड्का, काठमाडौंमा सावित्रा भुसाल, ललितपुर महानगरपालिकामा सुशीला नेपाल, भरतपुर महानगरपालिकामा रेणु दाहाल, बाग्लुङमा बलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रूपा चौधरी इञ्चार्ज बनेका छन् । यस्त,ै संघीय संसदका सभापतिहरू निरु पाल, पूर्णकुमारी सुवेदी, कल्याणी खड्काले जिल्ला इञ्चार्जको भूमिका पाएका छन् ।
स्कुल विभागमा कुरा मिलेन
आइतबारको बैठकमा विभागहरूको समेत जिम्मेवारी टुंगो लगाउने गरी तयारी भए पनि स्कुल विभागमा कुरा मिल्न सकेन । स्कुल विभागमा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टीका प्रवक्त नारायणकाजी श्रेष्ठले दाबी गरेपछि कुरा मिल्न नसकेको हो । दुई अध्यक्षबीच पनि यो विषयमा कुरा मिल्न सकेको छैन ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिने मनशाय बनाए पनि अर्का अध्यक्ष प्रचण्डले भने श्रेष्ठलाई उक्त जिम्मेवारी दिनुपर्ने बताएका छन् । स्रोतका अनुसार नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसमेत श्रेष्ठको पक्षमा छन् ।
ओली र महासचिव विष्णु पौडेल मात्रै पोखरेलको पक्षमा छन् । पार्टीका ३२ विभागमध्ये १८ मा पूर्वएमाले र १४ मा पूर्व–माओवादीका नेताहरूले नेतृत्व गर्ने सहमति भए पनि स्कुल विभागमा सहिमति जुट्न नसकेको हो । स्कुल विभाग पूर्व–एमालेको भागमा परेको भए पनि पोखरेलले दाबी गरेपछि पूर्व–माओवादीले उनको नाममा असन्तुष्टि जनाएको हो । पोखरेल जनताको बहुदलीय जनवादका पक्षमा खुलेर लागेका छन् ।
विदेश विभागको प्रमुखमा पूर्व–प्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल, नीति विभागको प्रमुखमा पूर्व–प्रधानमन्त्री झलनाथ खनाल र संगठनको विभागको प्रमुखमा वामदेव गौतम हुने लगभग निश्चित छ । नेकपा सचिवालय अर्को बैठक मंगलबार हुने भएको छ ।



















