जेठी श्रीमती हेमा ओझाद्वारा छविविरुद्ध बहुविवाहको उजुरी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो दुईसाता यता निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको घरायसी विवादले उग्ररूप लिइरहेको छ । केहीदिन अघि शिल्पाले आफूलाई श्रीमान् छविराजले घरेलु हिंसा गरेको भन्दै आफ्नो सुरक्षाका लागि प्रहरीसामु पुगिन् र पछि प्रहरीले दुईजनालाई राखेर मिलाएको थियो । शिल्पा र छविराजले २०७३ असार २९ गते सुटुक्क विवाह गरेका थिए भने गएको ६ महिना अगाडि विवाह दर्ता गरेका थिए । शिल्पाले अहिले पनि छविराजलाई डिभोर्स दिने भनेता पनि छविराजले आफूले शिल्पालाई डिभोर्स नदिने बताउँदै आएका थिए । 

यसैबीच, छवि र शिल्पाको घरायसी विवादले नयाँ मोड लिएको छ । चारवटी श्रीमती बिहे गरेका छविलाई अर्को समस्या आइलाग्यो । त्यो हो, बहुविवाहको । छविराज ओझाकी ५३ वर्षीय जेठी श्रीमती हेमा ओझाले श्रीमान् ओझा र शिल्पाविरुद्ध वहुविवाहको उजुरी दिएकी छन् । दुई सन्तान राजीव र मेहेशकी आमा रहेकी उनले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् । अधिकवत्ता स्वागत नेपाललाई साथ लिएर उनी उजुरी दर्ता गर्न प्रहरी वृत्त पुगेकी थिइन् ।