अबैधानिक नेपालीलाइ मलेसियाबाट नेपाल फर्किन दुताबासको आग्रह

File photo from internet.

मलेसिया: मलेसियामा गैरकानुनी रूपमा बस्दै आएका विदेशी कामदारका लागि स्वदेश फर्कन अर्को अवसर मिलेको छ। मलेसियाली सरकारले आफ्नो देशमा गैरकानुनी रूपमा बसेका विदेशी कामदारलाई लक्षित गरी आफ्नो मुलुक फर्कन नयाँ अवसर दिएको छ।

मलेसिया सरकारले “ब्याक फर गूड” नामका कार्यक्रम ल्याउँदै भिसा नभएका वा भिसाको म्याद सकिएर अभिलेखविहीन भइ बसेका विदेशी कामदारलाई फिर्ता हुने अवसर दिएको हो । यो कार्यक्रम आगामी अगस्ट १ देखी डिसेम्बर २१ सम्म अर्थात ५ महिनाका लागि ल्याइएको हो। यसअन्तर्गत नेपाल फर्कन लाग्ने खर्च र कागजातहरूका बारेमा समेत कोलालाम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ।

नेपाल फर्कन के गर्नुपर्छ?

नेपाल फर्कन चाहनेले मलेसिया सरकारलाई बुझाउनुपर्ने ७ सय रिङ्गिट जरिवाना, पासपोर्ट नहुनेका लागि एकतर्फी यात्रा अनुमति पत्रबापत नेपाली दूतावासमा तिर्नुपर्ने राजश्व १ सय ६० रिङ्गिट, मलेसियाबाट फर्कन आवश्यक हवाई टिकट आवश्यक पर्नेछ। राहदानी नभएकाले राजदूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र बनाई मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालयमा जानुपर्नेछ। कार्यालयमा आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकट बुकिङको प्रतिलिपि पनि अनिवार्य गरिएको छ।

नेपाल फिर्ता हुने हवाई टिकटमा फर्कने मिति अध्यागमन कार्यालय गएको ७ दिन भित्रको हुनुपर्नेसमेत राजदूतावासले जनाएको छ। यस कार्यक्रममार्फत नेपाल फर्कन कुनै तेस्रो पक्षको सहयोग लिनु नपर्नेसमेत मलेसियन सरकारले जनाएको छ।

यसअघि मलेसिया सरकारले गत वर्ष आफ्नो देशमा वैधानिक हुन र घर फर्कने योजनामा सामेल नभई अवैधानीक रूपमा बसिरहेका कामदारलाई पक्राउ गरी दोषी पाइएमा ५० हजार रिङ्गिट जरिवाना र ५ वर्षसम्मको जेल वा दुवै सजाय गर्ने व्यवस्था गरेको थियो। वैधानिक हुन दिइएको कार्यक्रममार्फत हजारौं नेपाली पनि लाभान्वित भएका थिए।

नेपाली कामदारका लागि रोजगारीको गन्तव्य मध्येको एक मलेसियामा झण्डै ५ लाख नेपाली वैधानिक रूपमा काम गरिरहेका छन्। हजारौँ कामदार भने अवैधानिक अवस्थामा बसिरहेको अनुमान गरिएको छ।