काठमाडौं । अखिल भारतीय राष्ट्रिय चयन समितिले वेष्ट इण्डिज टुरको लागि आइतबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा भारतीय टिमको घोषणा गरेको छ । विराट कोहली तीनवटै फम्र्याटमा भारतका कप्तान हुनेछन् । सिरिजमा २ टेस्ट र ३–३ एकदिवसीय तथा टी–२० खेल हुँदै छन् । पत्रकार सम्मेलनमा मुख्य छनोटकर्ता एमएसके प्रसादसँग पत्रकारहरूले धोनीको संन्यासको विषयमा सोधेका थिए । जवाफमा प्रसादले भने ‘धोनी छनोटको लागि अहिले उपलब्ध छैनन् । विश्वकप २०१९ सम्म हामीसँग धोनीलाई लिएर फरक–फरक योजना थिए तर अब अगाडि कुनै योजना छैन । विश्वकपपछि हामी चाहन्छौं कि ऋषभ पन्त जस्ता युवाले मौका पाऊन् ।’
प्रसादसँग के धोनीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलिसके वा उनी भविष्यमा पनि खेल्नेछन् भनेर सोधिएको थियो । जवाफमा प्रसादले भने ‘यसको जवाफ मैले दिन सक्दिन । यो फैसला अब धोनीले गर्नुपर्छ ।’ प्रसादको कुरा हेर्दा सम्भवतः बिसिसीआइले धोनीलाई ससम्मान संन्यास लिने वातावरण बनाइदिनकै लागि भए पनि अन्तिम एक अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर दिन सक्छ तर उनी टिमको लागि पहिलो रोजाइका विकेटकिपर नरहेको प्रसादको भनाइले स्पष्ट पार्छ । प्रसादका अनुसार संन्यास लिनु नितान्त निजी फैसला हो र धोनीजस्ता दिग्गजलाई थाहा छ कि उनले कहिले क्रिकेटबाट बिदा हुनुपर्छ । प्रसादले छनोट समितिसँग आफ्नो स्पष्ट मार्गचित्र भएको र समितिले युवाहरूलाई मौका दिन जारी राख्ने प्रस्ट पारेका छन् । प्रसादको भनाइले धोनी नियमित टिममा पर्ने सम्भावनालाई खारेज गर्छ । धोनीले शनिबार बिसिसीआइलाई सूचना दिएका थिए कि आगामी २ महिना उनी भारतीय सेनासँग हुने भएकोले क्रिकेटका लागि उपलब्ध हुने छैनन् ।




















