काठमाडौं (एजेन्सी) । विश्वकप फाइनलमा न्युजिल्याण्डका मार्टिन गुप्टिलको ओभरथ्रोमा इंल्याण्डलाई ६ रन दिने अम्पायर कुमार धर्मसेनाले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । श्रीलंकाका पूर्व–क्रिकेटर धर्मसेनाले भने ‘ओभरथ्रोको क्रममा दुवै ब्याट्सम्यानले एक अर्कालाई क्रस गरेका थिएनन् । मबाट निर्णयमा गल्ती भयो तर यसमा कुनै पछुतो छैन ।’
आइसिसीका पूर्व–अम्पायर साइमन टफेलले पनि यो फैसलालाई गलत ठहर गरेका थिए । उनले यो ओभरथ्रोमा इंल्याण्डलाई ५ रन मात्र दिइनुपर्ने बताएका थिए । यदि यस्तो भएको भए नतिजा टाई हुनुको सट्टा सुपरओभरमै नगई न्युजिल्याण्डले जित्ने थियो । टफेल ५ पटक आइसिसीका सर्वश्रेष्ठ अम्पायर चुनिएका थिए । धर्मसेनाले भने ‘मानिसहरूलाई टिभी रिप्ले हेरेर कमेन्ट गर्न सजिलो हुन्छ । हालै जब मैले टिभीमा देखें त्यसपछि बल्ल मैले सही निर्णय लिने काममा मबाट गल्ती भएको थाहा पाएँ । हामीसँग मैदानमा कुनै टिभी रिप्ले हुँदैन । मलाई यो फैसलामा कहिल्यै पछुतो हुनेछैन ।




















