प्रत्येकसँग लिखित प्रतिबद्धता मागेको छु : सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) पहिलो चुनौती भएको बताएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बिहीबार सदस्य–सचिव सिलवालकै सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रम सदस्यसचिव सिलवालले भने, ‘पहिलो चुनौती साग हो । त्यसमा पनि पूर्वाधार हो । निर्माण कार्यमा संलग्न प्रत्येकलाई मैले समयमा काम सम्पन्न गर्न लिखित प्रतिबद्धता पत्र मागेको छु । साग हुन्छ । गर्ने पर्छ ।’ सदस्यसचिव सिलवालले अभिभावकलाई माग पत्र बुझाउने नभई भेटेर कुरा गर्न सुझाए । ‘तपाईंहरूलाई केही चाहियो भने बुबाआमालाई पक्कै पनि माग पत्र दिनु हुन्न होला । कुरा गर्न हुन्छ होला । म पनि खेलकुदको अभिभावक हुँ । केही समस्या छ भने भेट्न आउनुस, बसेर कुरा गरौला र हल निकालौं ला । माग पत्र दिइ रहनु पर्दैन’, सदस्यसचिव सिलवालले भने ।

कार्यक्रममा खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, मानार्थ अध्यक्ष दीपक विष्टलगायतले सदस्यसचिव सिलवाललाई पुष्पगुच्छा, माला र खादा प्रदान गरी स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए । सो अवसरमा खेलाडी संघका अध्यक्ष श्रेष्ठले सदस्यसचिव सिलवाललाई सुझावसहितको १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ध्यानाकर्षण पत्रमा बृहत राष्ट्रिय खेलकुदका स्वर्ण विजेतालाई मात्र नगद पुरस्कार दिँदै आएकोमा रजत र कास्यलाई पनि नगद पुरस्कारको व्यवस्था गर्नुपर्ने, सागको तयारीलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने, सागको छनोटको आधार स्पष्ट हुनुपर्ने, पदक विजेता खेलाडीको वर्गीकरण गरी सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग राखेका थिए । 

यस्तै नयाँ पुस्ताका खेलाडीलाई आकर्षित गर्न सरकारले नीति ल्याउनु पर्ने, स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान खुल्नेगरी परिचय पत्रको व्यवस्था गर्नुका साथै त्यसैका आधारमा सरकारले निश्चित सहुलियतका पहल गर्नुपर्ने र खेलाडीलाई पलायन हुनबाट जोगाउन नीतिगत पहल गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै सागका स्वर्णधारी, एसियाडका पदकधारी र ओलम्पियनहरूलाई दिँदै आएको आजीवन भत्तालाई निरन्तरता दिँदै सागका रजत र कास्य विजेतालाई पनि भत्ताको व्यवस्था गर्नुपर्ने, देशका लागि योगदान पु¥याएका खेलाडीको मापन गरी प्रतियोगितापश्चात् पनि खेलाडीको बीमा गर्नुपर्ने, सागमा ३ वा सो भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद पुरस्कारबाट सम्मान गरिसकेकोमा ३ भन्दा कम स्वर्ण जित्ने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था हुनुपर्ने संघले माग गरेको थियो ।

राजनीतिक आस्थाका आधारमा खेलाडीमाथि हुने विभेदको पूर्णरूपमा अन्त्य हुनुपर्ने तथा राष्ट्रिय खेलाडी कल्याण कोषमा केही वर्षदेखि रकम थप गर्ने कार्य रोकिएको हुँदा हरेक वर्ष २० लाखका दरले कोषमा रकम थप गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने भनिएको छ ।

अध्यक्ष श्रेष्ठ र मानार्थ अध्यक्ष विष्टले सदस्यसचिव सिलवालको कार्यकाल सुनौलो हुने विश्वास व्यक्त गर्दै सदस्यसचिव सिलवालको शैक्षिक संस्थाले खेलकुद र खेलाडीको विकासमा उल्लेखनीय कार्य गरेको बताए ।