प्रतिरोधका क्रममा आफ्ना कार्यकर्ता मारिएको दाबी

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले भोजपुर गोलीकाण्डबारे धारणा सार्वजनिक गर्दै प्रहरीसँग प्रतिरोधका क्रममा आफ्ना कार्यकर्ता मारिएको दाबी गरेको छ । सगरमाथा ब्युरो इञ्चार्ज ‘अधिकार’का नामबाट बिहीबार विज्ञप्ति जारी गर्दै सो पार्टीले भोजपुर गोलीकाण्डबारे धारणा सार्वजनिक गरेको हो । विज्ञप्तिमा प्रहरी जवान सञ्जीव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त) को मृत्यु भएको दाबी गरिएको छ । भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जीव राईको पनि मृत्यु भएको थियो ।

गत जेठ ७ गते भोजपुरको टेम्के मयुम गाउँपालिका–२ दलसिंगेमा हिँडिरहेका बेला गिरफ्तार गरेर आफ्नो पार्टीका कार्यकर्ता तीर्थराज घिमिरेलाई चरम यातना दिएर हत्या गर्ने प्रहरी टोलीमा रहेका जवान सञ्जीवसँग बुधबार जम्काभेट हुँदा निरकुमारको प्रतिरोधका क्रममा मृत्यु भएको सो पार्टीले प्रष्ट्याउन खोजेको छ । 

षडानन्द नगरपालिका–१३ गोयामा रहेको घरमा परिवारलाई भेटेर फर्किने क्रममा उक्त घटना भएको बताइएको छ । निरकुमार विप्लव नेतृत्वको नेकपाको सगरमाथा ब्यूरो सदस्य तथा ओखलढुंगा जिल्ला समितिको सेक्रेटरीको जिम्मेबारीमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।