सरकार र प्रतिपक्षबीच दोहोरी

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका गतिविधिका बारेमा सरकार र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीच दोहोरी शैलीमा आरोप–प्रत्यारोप भइरहेको छ । भोजपुरमा भएको भिडन्तमा प्रहरी र विप्लव समूहका कार्यकर्ता मारिएपछि कांग्रेसले रक्तपातका दृष्य हेर्ने सामथ्र्य नरहेको भन्दै दुवै पक्षलाई संयमित हुन आग्रह गरेको थियो । 

त्यसको जवाफस्वरूप बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कांग्रेसलाई नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरे । मन्त्री बाँस्कोटाले प्रहरी कारवाहीमा विप्लव समूहका कार्यकर्ता मारिँदा कांग्रेसले प्रश्न उठाएकोप्रति चर्को असन्तुष्टि व्यक्त गरे ।

‘हिंसाप्रति कांग्रेसको धारणा के हो ? दिनभर बीपी, रातभर विप्लव ? चार तारामा शान्ति र लोकतन्त्रका तारा कता हराए ?,’ कांग्रेसप्रति लक्षित गर्दै मन्त्री बाँस्कोटाले प्रश्न गरे । सो समूहले हिंसात्मक गतिविधि गर्दै आएको र देशमा शान्ति सुरक्षा कायम राख्न सरकारले जवाफी कारबाही गरिरहेको जिकिर गर्दै उनले सरकारलाई एकोहोरो नखेद्न आग्रहसमेत गरे ।

सञ्चारमन्त्री बाँस्कोटाले प्रतिबन्धित नेकपाले गरिरहेको हिंसाको साहारा लिएर कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरेको आरोप लगाए । संविधान, कानुन र शान्तिका विरुद्ध कांग्रेसले विप्लव समूहलाई काखी च्यापेको उनको भनाइ थियो । ‘संविधान, कानुन र शान्तिविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको ?,’ उनले प्रश्न गरे । बुधबार बिहान भोजपुरमा विप्लव समूह र प्रहरीबीच भिडन्त हुँदा दुवै पक्षका एक–एकजनाको मृत्यु भएको थियो । सोही घटनालाई लिएर कांग्रेसले बुधबार बेलुकी प्रतिबन्धित नेकपालाई क्रान्तिका नाममा र सत्तारुढ नेकपालाई शान्ति सुरक्षा स्थापनाको नाममा जनताको रगतको होली नखेल्न चेतावनी दिएको थियो ।

कांग्रेसको सो धारणाप्रति टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले प्रतिपक्षी कांग्रेसले कानुन, संविधानविपरीत हिंसात्मक गतिविधिलाई साथ दिएको आरोप लगाए । भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै उनले हिंसा, आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन कांग्रेसलाई आग्रह गरे । हिंसाको सहारा लिएर सरकारलाई घेराबन्दी गर्छु भन्ने नसोच्न पनि उनले कांग्रेसलाई सचेत गराए । सशस्त्र द्वन्द्वकालमा माओवादीले कहिले दरबारका नाममा, कहिले कांग्रेस त कहिले एमालेका नाममा खेलेको स्मरण गर्दै उनले अहिले विप्लव समूहले पनि त्यही प्रयोग गर्न खोजेको जिकिर गरे । ‘१० वर्ष भयानक हिंसा हुँदा मुख्य मतियारहरू को थिए ? उहाँहरूको दृष्टिकोण पूरातत्व विभागबाट खोज्नुपर्ने भयो,’ बाँस्कोटाले भने । 

उनले विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको हत्याको छानविनका लागि संसदीय समिति गठन नहुने जिकिर गरे । विपक्षी दलहरू कांग्रेस र राजपाले उक्त हत्याकाण्डको छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गर्दै आएका छन् । मन्त्री बाँस्कोटाले संसदीय समितिले छानविन गर्दैमा सो समस्या समाधान नहुने दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पटक–पटक झुक्याइने गरेको भनेर दिएको अभिव्यक्तिको उनले बचाउ गरे । झुक्किनुमा प्रधानमन्त्रीको दोष नभएको उनको भनाइ थियो । ‘कसैले झुक्याउँछ भने प्रधानमन्त्रीको दोष हुन्छ र ? रिपोर्टिङ गर्नेले कसरी गरे, त्यसबाट हामीले सिक्ने हो । लगेर रूखमा झुण्ड्याउन मिल्दैन क्यारे । राणा शासन होइन,’ मन्त्री बाँस्कोटाले भने ।

कांग्रेस प्रवक्ताले ट्वीटमार्फत दिए जवाफ

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्री गोकुल बाँस्कोटाको अभिव्यक्तिविरुद्ध कडा प्रतिक्रिया जनाएका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा प्रतिबन्धित नेकपाका बारेमा कांग्रेसको धारणा माग्दै सञ्चारमन्त्री बाँस्कोटाले ‘दिनभर बीपी, रातभर विप्लव’ भनेकोमा उनले कडा आपत्ति जनाएका हुन् ।

कांग्रेस प्रवक्ता शर्माले ट्वीट गर्दै प्रधानमन्त्री केही शर्मा ओलीसँग सञ्चारमन्त्री बाँस्कोटालाई सम्हाल्न आग्रहसमेत गरे । उनले लेखेका छन्, ‘प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै फोटोकपी मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलीको जवाफ दिँदै हिँड्नु उचित हुन्न । भनाइ छ, हलेदो भनेर चिनिसकेपछि धेरै कोट्याउनु हुन्न । लगाम उपहार पठाउँ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?’

प्रधानमन्त्रीका अभिव्यक्तिको बचाउ

विवादित विषादी प्रकरणबारे प्रष्टीकरण दिँदै मन्त्री बाँस्कोटाले भारतबाट आउने सबै तरकारी र फलफूल विषादीयुक्त नभएको दाबी गरे । ‘अनुचित दबाबले विषादी परीक्षण रोकिएको होइन,’ उनले भने, ‘यसलाई मसला बनाउनुपर्ने कारण छैन । पूर्वाधार बनाउन त प¥यो नि ।’ प्रधानमन्त्री ओलीले बिहीबार एक कार्यक्रममा विषादी प्रकरणमा आफूलाई झुक्याइएको अभिव्यक्ति दिएका थिए । यसअघि चिनी प्रकरण र मेलम्ची आयोजनाका विषयमा पनि सम्बन्धित मन्त्रालयबाट झुक्किएको ओलीको भनाइ थियो । उनले सत्तारुढ दल नेकपालाई फुटाउन आराधना हुन थालेको दाबीसमेत गरे । ‘कताबाट फुटाउने भनेर जति आराधना गरे पनि नेकपा फुट्दैन,’ उनले भने, ‘यो सत्य कुरा हो, नेकपा फुट्ला र भ्यागुताको धार्नी पु¥याउँला भन्ने कसैलाई लागेको छ भने पाँच वर्षसम्म कामै नगर्ने, बिहानै घण्टी बजाउने, बेलुका शंख फुकेर आराधना गर्दैमा केही पनि हुँदैन ।’