काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसले भारतीय तरकारी र फलफूलको विषादी परीक्षणमा सरकार भारतसामु लम्पसार परेको आरोप लगाएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विषादी परीक्षणमा पछि हटेर सरकार भारतसामु घुँडा टेकेर लम्पसार परेको आरोप लगाए ।
खाँणले अखाद्य पदार्थलाई बिक्रीमा रोक लगाउने सरकारको निर्णय नटिक्नुको र विषादी परीक्षण फिर्ता लिनुको कारणबारे सम्बन्धित मन्त्रीसँग जवाफ माग गरे । उनले भने, ‘अखाद्य तरकारी रोक लगाउन सरकारले गरेको निर्णयको हामीले स्वागत ग¥यौं तर सकारले घुँडा टेकेको छ, सरकार लम्पसार परेको छ ।’ उनले खाद्य सुरक्षासम्बन्धी हक, जीवन रक्षा गर्न पाउने अधिकारको रक्षा हुनुपर्ने बताए । उनले भने, ‘हिजो किन रोकियो, परीक्षण नगरी किन फेरि सहजतापूर्वक खोलियो, यो गम्भीर विषय भएकाले तत्काल सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ ।’ संविधान प्रतिकूल अघि बढाइएका सबै विधेयक फिर्ता लिन पनि प्रमुख प्रतिपक्षी दलले सरकारको ध्यानाकर्षण गराएको छ ।
खाँणले सांसदले उठाएका विषयलाई सरकारले गम्भीररूपमा नलिएको भन्दै आपत्ति पनि जनाएका छन् । संसद्मा दलका प्रतिनिधिले बोलेका कुरालाई कार्यपालिकाले गम्भीरताका साथ नलिएको र सभामुखले गरेको रुलिङलाई बेवास्ता गरेको आरोप लगाए । उनले सरकारले हालै सर्लाहीमा कुमार पौडेललाई अशक्त बनाएर र हात भाँचेर गोली हानी हत्या गरेको आरोप पनि लगाए । उनले भने, ‘गैरकानुनी काम गरे कानुनी कारबाही गर्ने अधिकार सरकारलाई छ तर मानव अधिकारविपरीत सरकारबाट नियन्त्रणमा लिइसकेको मानिसलाई पनि निर्मम तरिकाले हत्या भएको छ ।’ सभामुख कृष्णबहादुर महराले विषादी परीक्षणबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।



















