क्वालालम्पुरमा अवैध विदेशी कामदार राख्ने क्लिनिङ कम्पनीमाथि अध्यागमनको छापा, २० पासपोर्ट बरामद।

क्वालालम्पुर:= मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) ले अवैध रूपमा विदेशी कामदारलाई रोजगारीमा लगाएको आरोपमा क्वालालम्पुरका विभिन्न स्थानमा सञ्चालन भइरहेको एक क्लिनिङ कम्पनीमाथि कारबाही गरेको छ।

अध्यागमन विभागअन्तर्गतको Anti-Trafficking and Money Laundering Department (ATIPSOM)Anti-Money Laundering Centre (AMLA) को संयुक्त टोलीले २ सेप्टेम्बर २०२६ मा गरेको विशेष अभियानका क्रममा कम्पनीका सञ्चालकसहित तीन जना मलेसियाली नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक पुरुष र दुई महिला रहेका छन्।

अध्यागमन विभागका अनुसार उक्त कम्पनीले इन्डोनेसियाली नागरिकलाई क्लिनर तथा यातायातसम्बन्धी काममा लगाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका तथा अनुसन्धानमा आएका केही विदेशी कामदारसँग मलेसियामा बस्न तथा काम गर्न आवश्यक वैध यात्रा कागजात वा पासपोर्ट नभएको पाइएको विभागले जनाएको छ।

अनुसन्धानका क्रममा कम्पनीले विदेशी कामदारका पासपोर्ट नियन्त्रणमा राखेको, न्यूनतम RM१,५०० भन्दा कम तलब दिएको, तलबबाट अनुचित कटौती गर्ने गरेको तथा विभिन्न जरिवाना र दण्ड लगाउने गरेको आरोपसमेत फेला परेको छ। कामदारलाई तोकिएको समयभन्दा बढी काम गर्न बाध्य पारिएको र उनीहरूको आवतजावतमा समेत प्रतिबन्ध लगाइएको अनुसन्धानबाट खुलेको छ।

कम्पनीमा कार्यरत केही कामदार कथित शोषणका कारण काम छाडेर भागेको विवरणसमेत भेटिएको अध्यागमन विभागले जनाएको छ।

कारबाहीका क्रममा टोलीले विभिन्न व्यक्तिका २० थान पासपोर्ट, RM९,४०० नगद तथा कम्पनीका गतिविधिसँग सम्बन्धित हुनसक्ने कम्प्युटरलगायतका विद्युतीय उपकरण बरामद गरेको छ। बरामद सामग्रीलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

अध्यागमन विभागका अनुसार कम्पनीले इन्डोनेसियाबाट विदेशी कामदार भर्ना गरी क्लिनरको रोजगारी दिने प्रलोभन देखाउने र उनीहरूको भर्ती तथा अन्य खर्च कम्पनीले नै व्यहोर्ने भन्दै कामदार ल्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस्तै, विभागले गरेको वित्तीय अनुसन्धानका आधारमा कम्पनीका सञ्चालकसँग सम्बन्धित शंकास्पद केही बैंक खातासमेत मनी लन्डरिङसम्बन्धी कानुनअन्तर्गत रोक्का गरिएको जनाएको छ। अनुसन्धानका क्रममा अन्य कानुनी उल्लङ्घनसमेत फेला परेकाले सम्बन्धित निकायले आ–आफ्नो अधिकार क्षेत्रअनुसार थप कारबाही अघि बढाएका छन्।

पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन KLIA अध्यागमन हिरासत केन्द्रमा राखिएको छ।

मलेसियाली अध्यागमन विभागले विदेशी कामदारको अवैध रोजगारी, श्रमिक शोषण तथा अध्यागमनसम्बन्धी कानुन उल्लङ्घन गर्ने कुनै पनि व्यक्ति वा संस्थामाथि कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ।

विभागले Immigration Act 1959/63, Passport Act 1966, Anti-Smuggling of Migrants Act 2007 तथा Anti-Money Laundering Act 2001 लगायतका कानुन उल्लङ्घन गर्नेविरुद्ध सम्बन्धित निकायसँगको समन्वयमा निरन्तर संयुक्त कारबाही सञ्चालन गर्ने जनाएको छ।