क्वालालम्पुर(मलेसिया):= मलेसियाको क्वालालम्पुर क्षेत्रमा सुरक्षागार्डका रूपमा कार्यरत एक नेपाली श्रमिक धर्मविरोधी तथा मुस्लिम समुदायप्रति आपत्तिजनक अभिव्यक्ति समेटिएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रहरीको कारबाहीमा परेका छन्।
प्रहरीमा दर्ता गरिएको रिपोर्ट तथा सम्बन्धित सुरक्षा कम्पनीले पठाएको आधिकारिक वक्तव्यअनुसार, भोगिन्द्र राम नाम गरेका नेपाली सुरक्षागार्डले ३० अगस्ट २०२६ मा सामाजिक सञ्जालको प्लेटफर्म Threads र instagram मा इस्लाम धर्म तथा मुस्लिम समुदायलाई लक्षित गरी आपत्तिजनक शब्द र गालीगलौजसहितको भिडियो/सामग्री पोस्ट गरेको आरोप छ।
उक्त सामग्री सार्वजनिक भएपछि मलेसियामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच विभिन्न प्रतिक्रिया उत्पन्न भएको थियो। प्रहरी रिपोर्टमा उल्लेख भएअनुसार, उक्त सामग्री नेपाली भाषामा रहेको र त्यसमा धार्मिक भावनामा चोट पुर्याउने किसिमका शब्द तथा अभिव्यक्ति प्रयोग गरिएको जनाइएको छ। साथै, मुस्लिम समुदायप्रति आपत्तिजनक भनाइ र धम्कीपूर्ण अभिव्यक्तिसमेत रहेको उजुरीमा उल्लेख गरिएको छ।
घटना सार्वजनिक भएपछि भोगिन्द्र कार्यरत Mitraforce (M) Sdn Bhd ले तत्काल कदम चाल्दै उनलाई जिन्जाङ, सेन्तुलस्थित जिन्जाङ प्रहरी चौकीमा बुझाएको कम्पनीको आधिकारिक वक्तव्यमा उल्लेख छ। कम्पनीले घटनाबारे प्रहरीमा रिपोर्ट दर्ता गरिसकेको र अनुसन्धानका क्रममा सम्बन्धित निकायलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सुरक्षागार्ड कम्पनीको स्पष्टिकरण
कम्पनीले सम्बन्धित व्यक्तिले सामाजिक सञ्जालमा व्यक्त गरेका विचार, भनाइ वा पोस्टहरू उनको निजी व्यक्तिगत धारणा भएको र कम्पनीको आधिकारिक धारणा नभएको स्पष्ट पारेको छ। कम्पनीले त्यस्ता धार्मिक तथा समुदायबीच तनाव सिर्जना गर्न सक्ने अभिव्यक्तिलाई आफूले कहिल्यै समर्थन, निर्देशन वा अनुमति नदिएको जनाएको छ।
कम्पनीका अनुसार, उक्त घटना बाहिर आएपछि सञ्चालन अधिकृतहरूले सम्बन्धित व्यक्तिलाई तत्काल प्रहरीसमक्ष बुझाएका हुन्। कम्पनीले अनुसन्धान प्रक्रियाभर प्रहरी तथा सम्बन्धित सरकारी निकायलाई पूर्ण सहयोग गर्ने जनाएको छ।
त्यसैगरी, कम्पनीले सम्बन्धित व्यक्तिको वर्क परमिट रद्द गराउन आवश्यक प्रक्रिया अघि बढाउने र कानुनी प्रक्रिया तथा सम्बन्धित निकायको स्वीकृतिअनुसार उनलाई नेपाल फिर्ता पठाउने तयारीसमेत गरेको जनाएको छ।
कम्पनीले मलेसियामा रहेका सबै धर्म, समुदाय र संस्कृतिको सम्मान गर्ने भन्दै कुनै व्यक्तिको व्यक्तिगत गतिविधिका कारण कम्पनीको नाम, प्रतिष्ठा वा मलेसियाली समाजको धार्मिक सद्भावमा असर नपरोस् भन्नेमा आफू सचेत रहेको स्पष्ट पारेको छ। साथै, यस विषयमा हुने थप कारबाही कानुनी तथा आधिकारिक माध्यमबाट मात्रै अघि बढाइने जनाएको छ।




















