क्वालालम्पुर:= नेपालमा हालै चीन तिब्बत – रसुवा नाकाहुँदै आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकको राहत तथा उद्धारका लागि मलेसियाका एक व्यवसायीले १ हजार २ सय अमेरिकी डलर (करिब रु. १ लाख ८२ हजार) रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन्।
मलेसियाका विमानस्थलमा कार्गो तथा सामान व्यवस्थापन र जनशक्ति आपूर्ति गर्दै आएको मुतियारा कायामास एसडिएन बिएचडीका सञ्चालक दातो क्याप्टेन मोहम्मद युसुफ बिन आब्द अजिजले उक्त रकम सहयोग गरेका हुन्।
आफ्नो कम्पनीमा लामो समयदेखि ठूलो संख्यामा नेपाली श्रमिकलाई रोजगारी प्रदान गर्दै आएका अजिजले नेपाली श्रमिकहरूको योगदानप्रतिको सम्मान तथा विपत्तिमा परेका नेपालीप्रतिको मानवीय सद्भावस्वरूप सहयोग गरेको उनीनिकट एक नेपाली व्यवसायीले जानकारी दिए।
अजिजको कम्पनी सन् २०१३ मा स्थापना भएको हो। स्थापना भएयता हजारौं नेपालीले उक्त कम्पनीमा रोजगारी पाइसकेको बताइएको छ। अन्य देशका श्रमिक आपूर्तिकर्ताबाट आएका विभिन्न प्रस्ताव तथा प्रलोभनलाई अस्वीकार गर्दै नेपाली श्रमिकलाई प्राथमिकता दिँदै आएको पनि उनीनिकट स्रोतले जनाएको छ।
नेपालमा ठूलो जनधनको क्षति हुने गरी आएको बाढी र पहिरोप्रति दुःख व्यक्त गर्दै अजिजले आफ्नो सहयोगले विपद्मा परेका नागरिकलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनले विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। साथै, कठिन परिस्थितिमा रहेका नेपालका प्रभावित नागरिकप्रति आफ्नो साथ, सद्भावना र प्रार्थना रहेको बताएका छन्।
व्यक्तिगत रूपमा मलेसियाली व्यवसायीबाट प्राप्त यो सहयोगलाई नेपाली समुदायसँगको श्रम तथा मानवीय सम्बन्धको उदाहरणका रूपमा हेरिएको छ। नेपाली व्यवसायीहरूको सक्रिय पहल र समन्वय हुन सके मलेसियाबाट बाढीपीडितका लागि थप सहयोग जुटाउन सकिने अजिजले बताएका छन्।
मलेसियाले सन् २००१ देखि नेपाललाई श्रमिक स्रोत मुलुकका रूपमा मान्यता दिँदै आएको छ। त्यसयता मलेसियाका विभिन्न क्षेत्रमा हजारौं कम्पनीमा नेपाली श्रमिक कार्यरत छन्।
यसैबीच, नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि मलेसिया सरकारले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरिसकेको छ। बाढीका कारण नेपालमा रहेका ५५ जना मलेसियाली नागरिक सम्पर्कविहीन रहेको तथा ७७ जनाको उद्धार गरिएको विवरणसमेत सार्वजनिक भएको छ।




















