बोरा बोकेर जानुपर्छ स्कुल

रौतहट । प्रदेश–२ को रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका–७, नयाँ बस्तीमा एउटा विद्यालय छ । नाम हो– जनता आधारभूत विद्यालय । 

कक्षा ६ सम्म पढाइ हुने उक्त विद्यालयमा कम्तीमा ३ सयजना विद्यार्थी नियमित छन् । विद्यालय जिल्ला सदरमुकाम गौरबाट ४२ किलोमिटर उत्तर र पूर्व–पश्चिम राजमार्गबाट करिब ५ किलोमिटर दक्षिणमा अवस्थित छ । आवागमनका हिसाबले विद्यालय सुगम ठाउँमा छ । निजी तथा सार्वजनिक सवारीसाधनहरू विद्यालयसम्मै पुग्छन् । विद्यालय व्यवस्थापन समतिका अध्यक्ष छन् वडा अध्यक्ष विष्णु उप्रेती । 

यो विद्यालयका विद्यार्थी पढ्न जाँदा घरैबाट एउटा बोरा बोकेर जान्छन् । उनीहरू दिनभर भुइँमा बोरा ओछ्याएर पढ्छन् र फर्किंदा घरै ल्याउँछन् । बोरा नलगे भुइँमै बस्नुपर्छ । 

विद्यार्थीलाई पुग्ने कक्षाकोठा छैनन् । बस्नलाई डेस्क–बेन्च त झन् थोरै । बोरा ओछ्याएर कोही कक्षाकोठाभित्र बस्छन् तर कोही छानो मात्र भएको टहराको भुइँमा । कोही चाहिँ बाहिर चौरमा रूख छायातिर बोरा ओछ्याउँछन् । यस विद्यालयमा मुख्यगरी विपन्न तथा दलित परिवारका बालबालिकाहरू पढ्छन् ।

प्रधानाध्यापक रामाधार साहका अनुसार जम्मा ३० जोर डेस्क–बेन्च छन् । जसमा माथिल्लो कक्षाका विद्यार्थी खाँदिएर बस्छन्, एउटामा ६ जनासम्म । तल्लो कक्षाका विद्यार्थीहरू बोरा ओछ्याएर बस्छन् । कक्षा १ मा मात्रै १५० जना विद्यार्थी नियमित छन् । ती सबै बोरामै बस्छन् । प्रधानाध्यापक साह भन्छन्, ‘विद्यार्थीहरू भुँइमा बोरा ओछ्याएर पढ्नु पर्दा सिकाइ प्रभावकारी हुन सकेको छैन ।’

दिवाखाजा कार्यक्रमले विद्यार्थी भर्ना बढेको र उपस्थिति नियमित रहेको प्रधानाध्यापक साहको भनाइ छ ।  व्यवस्थित कक्षाकोठा र बस्ने ठाउँ नहुँदा बालबालिकाहरू घामपानी र धुलो खपेर पढ्ने गरेका छन् । 

गरिब र दलितका छोराछोरी पढ्ने विद्यालय भएकाले राज्यले वास्ता नगरेको अभिभावकहरूको आरोप छ । एक अभिभावक गुनासो गर्छन्, ‘हुनेखाने र धनीका छोराछोरी निजी स्कुलमा पढ्छन्, हामी गरिबका छोराछोरी भुइँमा बोरा ओछ्याएर पढ्नुपर्छ, कसैले पनि हेर्दैैन ।’ करिब १२ सय घरधुरी रहेको सो क्षेत्रको उक्त विद्यालयलाई नमुना विद्यालय बनाउन अभिभावकहरूको माग छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष उप्रेती विद्यालयको दूरवस्था बारेमा आफू राम्रोसँग जानकार रहेको र सुधारका लागि प्रयासरत रहेको बताउँछन् । उनले पहिलो चरणमा सकेसम्म चाँडो डेस्क–बेन्च किन्ने प्रयास भएको र त्यसका लागि १ लाख ५० हजार रुपैयाँ जुटाउन लागेको  बताए । उनले आगामी आर्थिक वर्षमा भवन निर्माणका लागि वडाले १० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । 

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले आफूले विद्यालयको अवस्थाबारे जानकारी पाएको र सुधारका लागि बजेट विनियोजन गर्न वडालाई निर्देशन दिएको बताए । उनले भने, ‘बालबालिका बोरा ओछ्याएर बस्नुपर्ने अवस्था एकदमै दुःखद छ, चाँडै विद्यार्थीहरूलाई यो अवस्थाबाट मुक्त गर्न नगरपालिका लागिपरेको छ ।’  उनले नगरपालिकाभित्र जनता आधारभूत विद्यालयलगायत सबैको भौतिक पूर्वाधार विकासमा आफू प्रतिबद्ध रहेको बताए ।