काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको राष्ट्रवादी चरित्रबारे प्रश्न उठाएको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूललाई सीमा नाकामा विषादी परीक्षण गरेर मात्र भित्रिन दिने निर्णय सरकारले फिर्ता लिएकोमा कांग्रेसले प्रश्न उठाएको हो ।
नागरिक जीवनप्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किचाउने वर्तमान सरकारको जनविरोधी प्रवृत्तिलाई गम्भीरतापूर्वक लिइएको कांग्रेसले जनाएको छ । शनिबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल–भारत सीमाको भन्सार विन्दुमा तरकारी फलफूल लगायतमा विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेको थियो । तर अहिले आएर सरकारले एकाएक कुनै परीक्षणबेगर भित्रिन दिने आदेश दिएको समाचार अत्यन्त गम्भीर छ । नेपाली कांग्रेस यसबारेमा पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकारसमक्ष माग गर्दछ ।’
उनले काठमाडौं सहरको प्रदूषणको प्राविधिक मापनको ज्ञानबेगर एकातर्फ मास्क नलगाई हिँड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परीक्षणबेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गरेको आरोपसमेत लगाए । ‘विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई बिर्सिएर सरकार आफ्नै घोषणाविपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैरजिम्मेवारी हो,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘निर्वाचनका बेला अभिव्यक्त महान् राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विसर्जित हुँदै छ ?’
कांग्रेसले नागरिक जीवनमाथि खेलवाड गर्ने गैरजिम्मेवार सरकारको कार्यशैलीको भत्र्सना गर्दै विषादीयुक्त तरकारी–फलफूल प्रवेशमा तत्कालै कडा परीक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराएको छ ।
आन्तरिक एकताको पहल
कांग्रेसमा आन्तरिक एकताको पहल भइरहेको नेताहरूले बताएका छन् । विभिन्न एजेण्डाका साथ बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टी एकजुट हुनेमा नेताहरू विश्वस्त देखिएका छन् ।
केन्द्रीय सदस्य श्याम घिमिरेले आइतबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा गम्भीर र महŒवपूर्ण विषयमा छलफल हुने बताए । ‘बैठक केही दिन लामो चल्छ, र यो टर्निङ प्वाइन्ट हुनेछ । कांग्रेस अहिले नयाँ बाटोमा अघि बढ्दै छ । अब पार्टीभित्रका नयाँ संरचनाले पूर्णता पाउँदै छन्,’ उनले भने ।
हिन्दू धर्मका विषयमा फरक मत
नेता घिमिरेले धर्मको विषय यसपटकको बैठकमा प्रवेश नगर्ने बताए । महाधिवेशनको लागि सदस्यता वितरणको काम जो छ, त्यो अब अघि बढ्छ, यसपटकको बैठकमा धर्मको विषयमा प्रवेश नै गर्दैन,’ उनले भने । कांग्रेस धर्मसापेक्ष नीतिअनुसार अघि बढ्ने र बैठकमा धर्मको विषयले प्रवेश नपाउनेमा ढुक्क हुन पनि उनले आग्रह गरे ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडल मात्रै नभएर बैठकपछि नेतृत्वमा बसेका सबै नेताहरूबीच एकता हुने विश्वास उनले दिलाए ।
अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले भने बैठकमा धेरै विषयमा गहन छलफल हुने र त्यसमा पनि हिन्दू राष्ट्रको विषय उठ्ने बताए । ‘बैठकमा समग्र मुलुकको परिस्थितिबारे छलफल हुन्छ । नेकपाको गतिविधि र सरकारको कामबारे पनि विश्लेषण हुन्छ,’ उनले भने ।
पछिल्लो समय हिन्दू राष्ट्रको विषय जोडतोडले उठेको सुनाउँदै उनले केन्द्रीय समिति बैठकमा यो विषय पनि स्वाभाविक रूपमा उठ्ने बताए ।
महासमितिको बैठकमा ७०९ सदस्यको हस्ताक्षरसहित हिन्दू राष्ट्रको एजेण्डा उठाएको स्मरण गराउँदै उनले केन्द्रीय समिति बैठकमा आफूले यो विषय प्रवेश गराउने बताए ।
केन्द्रीय सदस्य रामकृष्ण यादवले नेताहरूबीच एकता कायम गर्न बैठक सफल हुने बताए । शीर्ष नेताहरूबीच एकता हुन आवश्यक रहेको र जनताको पनि चाहना त्यही नै रहेको उनको भनाइ छ ।



















