मनसुन सक्रिय पश्चिम तराईमा बर्षा

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा मनसुन सक्रिय भएको छ । राजधानीसहित देशका विभिन्न भागमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार र आइतबार राजधानीमा सामान्य बर्षा भएको छ । 

शनिबार सबैभन्दा बढी नेपालगञ्जमा वर्षा भएको छ । विभागका अनुसार शनिबार नेपालगञ्जमा १०९.४ मिलिमिटर वर्षा भएको छ । काठमाडौं उपत्यकामा भने १०.८ मिलिमिटर वर्षा भएको छ । 

विभागका अनुसार शनिबार देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्णबदली हुँदा पश्चिमका धेरै र पूर्व र मध्यका केही भूभागमा मध्यम खालको वर्षा भएको छ । केही दिनदेखि देशैभर मनसुन सक्रिय भएकाले आइतबार र सोमबारसम्मै मौसममा बदली भई सामान्यदेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । 

विभागका अनुसार अझै केही दिन पश्चिमका धेरै र पूर्व र मध्यका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना देखिएको छ । मनसुन सक्रिय भइरहेकाले देशका पश्चिमी भू–भागका केही स्थानमा भने भारी वर्षा हुने मौसमविद् शान्ति कँडेंलले बताइन् । 

आइतबार राजधानीको मौसममा सामान्य बदली भई मध्यमखालको वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । आइतबार राति देशैभर बदलीले निरन्तरता पाउने भएकाले मध्यम खालको वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ । सोमबार दिउँसैदेखि देशैभर मौसममा बदली भइरहने भएकाले मध्यमखालको वर्षा हुने जनाइएको छ ।

विभागका अनुसार शनिबार सिमरामा ७३.६ मिलिमिटर वर्षा भएको छ । यस्तै, पोखरामा पनि ७०.१ मिलिमिटर, धनगढीमा ५७.४ मिलिमिटर, वीरेन्द्रनगरमा ५४.१ मिलिमिटर, दिपायलमा २८.५ मिलिमिटर, दाङमा २१.६ मिलिमिटर वर्षा भएको छ । डडेल्धुरामा ८.६ मिलिमिटर, जुम्लामा ३ मिलिमिटर, ताप्लेजुङमा २.४ मिलिमिटर वर्षा भएको छ ।