काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले पुनरागमन गरेका छन् । गत जनवरीमा युएईविरुद्ध भएको एकदिवसीय र टी–२० शृंखलाका क्रममा इञ्जुरीका कारण टोलीमा नरहेका शरदले झण्डै ६ महिनापछि हुन लागेको टी–२० विश्वकपको एसिया छनोटका लागि नेपाली टोलीमा स्थान बनाएका हुन् ।
शरदसहितको १४ जनाको टोली आइतबार घोषणा भएको छ । ४ जना वैकल्पिक खेलाडीसहित कप्तान पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा गरिएको हो । शरद मध्यक्रमका आशालाग्दा ब्याट्सम्यान भए पनि युवा खेलाडीको आगमनसँगै नेपाली टोलीको मध्यक्रममा चर्को प्रतिस्पर्धा छ ।
शरदको स्थान र भुमिकाका बारेमा टोली छनौटकर्ता समेत कप्तान पारस खड्काले समेत स्पष्ट जवाफ दिएनन् । ‘हामी विभिन्न विकल्पहरू हेरिरहेका छौं । इञ्जुरीका कारण पछिल्ला केही प्रतियोगितामा शरद टोलीमा रहेनन् । उनी अनुभवी खेलाडी हुन्,’ पारसले भने, ‘व्यावसायिक खेलाडी भइसकेपछि जुनसुकै भूमिका तपाईंलाई दिए पनि त्यस भूमिकामा दिइएको जिम्मेवारी पूरा गर्नसक्नुपर्छ ।’
शरदले आगमन गर्दा युएई टुरमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने कीर्तिमान राखेका सन्दीप जोरा भने टोलीमा परेनन् । सोही टुरमा सन्दीपसँगै डेब्यू गरेका अभिनास बोहरा र पवन सर्राफले भने टोलीमा निरन्तरता पाए ।
उनीहरूसँगै वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी टोलीमा रहेका छन् । वैकल्पिक खेलाडीमा कुशल भुर्तेल, जितेन्द्र मुखिया, सुसान भारी र आरिफ सेख रहेका छन् ।
नेपालले त्रिवि मैदानमा झण्डै दश दिन प्रारम्भिक बन्द प्रशिक्षणपछि अन्तिम टोली घोषणा गरेको हो । केही दिन थप नेपालमै अभ्यासपछि अन्तिम तयारीका लागि नेपाली टोली जुलाई ९ मा मलेसिया प्रस्थान गर्नेछ । मलेसियामा दश दिन अभ्यास गर्ने नेपाली टोली जुलाई १९ मा आयोजना स्थल सिंगापुर प्रस्थान गर्नेछ ।
मलेसियामा नेपालले जुलाई १३ र १४ तारिखमा दुई अन्तर्राष्ट्रिय टि–२० शृंखला खेल्नेसमेत निश्चित भइसकेको छ । सिंगापुर र मलेसियाको कन्डिसन मिल्ने भएकाले मलेसियाको अभ्यासले सहज बनाउँने पारसले बताए ।
‘कन्डिसनका रुपमा पनि सिंगापुर र मलेसिया एउटा एउटै भएकोले त्यसले हामीलाई सहयोग गर्ने विश्वास लिएका छौं,’ पारसले भने, ‘महŒवपूर्ण कुरा, अन्त्यमा नतिजाले नै अर्थ राख्ने हो । विश्वकप खेल्ने अवसर छ हामीसँग र त्यसको सुरुवात यो प्रतियोगिताबाट नै हुनेछ ।’
आइसिसी टी–ट्वान्टी एसिया छनोट आगामी जुलाई २०–२८ सम्म सिंगापुरमा हुनेछ । प्रतियोगितामा नेपालसहित, सिंगापुर, कुवेत, मलेसिया र कतार छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनोटको लागि प्रतिस्पर्धा हुनेछ । नेपालले जुलाई २३ गते कतारसँग खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ ।
नयाँ प्रशिक्षक उमेश पटुवालको आगामनले नेपाली टोलीमा उत्साह देखिन्छ । तयारीमा आफूहरू खुशी रहेको पारसले बताए । ‘यो प्रतियोगिता एकदमै महŒवपूर्ण छ । विजेता ग्लोबल क्वालिफायरमा पुग्ने हो । त्यो भनेको विश्वकपका लागि अन्तिम छनौट हो,’ पारसले भने, ‘अन्य टिमको तुलनामा हामीलाई दबाब पनि छ । अन्य टिमभन्दा नेपाल उच्च वरियतामा पनि छ । हामी कुनै पनि कुरालाई सजिलो गरिलिने छैनौं । हामी त्यहाँ गएर राम्रो खेल्नैपर्छ । तयारीका हिसाबले हामी खुशी छौं । आशा गरौं, हामीले प्रतियोगितामा तयारी अनुरूप खेल्न सकौं ।’




















