काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढाल्ने चेतावनी दिएका छन् । जनताको अधिकार कुण्ठित गर्न खोजे सरकार नटिक्ने उनले बताए । शुक्रबार पार्टीनिकट स्थानीय तहका कर्मचारीहरूले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुनेगरी सरकारले ल्याएको विधेयकहरू कुनै पनि हालत पारित हुन नदिने स्पष्ट पारे । उनले भने, ‘लोकतन्त्रका लागि राणा शासन ढालेको कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन ।’
उनले पार्टीनिकट कर्मचारीहरूलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरे । वर्षौंदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरूलाई स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने उनको भनाइ थियो ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानविन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि तत्काल ठोस कदम चाल्न सरकारलाई सचेत गराए । पौडेलले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेद्भावको नीति नलिन पनि सरकारलाई चेतावनी दिए ।



















