मानिसले प्रसस्त आर्थिक विकास चाहेको हुन्छ । न्यूनतम आवश्यकतादेखि सम्पन्नता र विलासिताको जीवनशैलीसम्म मानवजीवनमा अर्थको धेरै महŒव हुन्छ । अर्थ, अर्थोपार्जन र अर्थको उपयोगदेखि उपभोगसम्मको अध्ययन र विश्लेषण अथर्ववेदले गर्दछ । अथर्ववेदभित्र रहेको वास्तुशास्त्रले वस्तुको ज्ञान र विज्ञानको उपयोगितालाई महŒव दिन्छ ।
धन, वैभव, उत्पादन र वितरण, रोजगारीको सिर्जना, आर्थिक लगानी, त्यसको प्रतिफल, आर्थिक वृद्धिदर, पदार्थको अत्यधिक प्रयोग, घर, भवनहरूको सजावटमा विभिन्न धातुको प्रयोग र तिनको व्यवस्थिति, फलाम, काठ, सिसा, माटो, ढुंगा आदिको प्रयोगको अध्ययनदेखि तिनको गुणस्तर, भूमिशोधन, भूमिको शल्यक्रियासम्म र त्यसको समय मापनसम्मको अध्ययन कार्य वास्तुशास्त्रले गर्दछ । औद्योगिक क्षेत्रको लागि सुहाउँदो वातावरण, त्यसको अनुकूलको भवन निर्माण, आवासीय प्रबन्ध, विद्युतीकरण, अन्य इलेक्ट्रोनिक्स विषयको ब्यवस्थापन, एयरकण्डिसन, रेफ्रिजिरेटर, व्यापारिक कार्यक्षेत्र, उद्यमशीलताको वातावरण, रोजगारीको सिर्जना, पर्यटन प्रबद्र्धनदेखि तालतलैयाको व्यवस्थिति र मठमन्दिर, प्राचीन स्मारकहरूको अनुसन्धान, शिल्पी कार्यसम्म र ती सबै वस्तुहरूको रखाइ, सजावट पद्धति, विधान र प्रक्रियासमेतलाई व्यवस्थित गराउन प्रेरित गर्छ ।
बैंकिङ सेक्टरहरूका लागि सेवा दिने भवनहरू, सेवाग्राहीले सेवा लिनसक्ने वातावरणको पहिचान, आधुनिक पाठशालाको निर्माण, प्रयोगशालादेखि सभागृह, कक्षाकोठा तिनको सजावटका विषयदेखि घर, महलहरूमा हुने आधुनिक शौचालय तिनको आकार प्रकारसम्मको अध्ययन वास्तुशास्त्रले गराउँछ । ग्राम, नगर, नगरोन्मुख स्थितिदेखि आधुनिक सरसफाइसम्म र उच्च राजमार्गका लागि आवश्यक पूर्वतयारीसमेतको सजगता यस शास्त्रले अपनाउँछ । आधुनिक ढल, पानी प्रशोधनको विषय, विकासको लहर, समानुपातिक वितरणसम्मको कार्यक्षेत्र अँगालेको अथर्व वेदलाई बिर्सेर हामीले आर्थिक कल्याण गर्न सत्तैmनौं । आर्थिक विकास नहुँदा, आर्थिकस्तर वृद्धि नहुँदा समग्र राष्ट्र विकास र निर्माण कार्य नै पछि पर्न जान्छ ।
अथर्व वेदअन्तर्गतको स्थापत्यवेद वास्तुशास्त्रभैmँ मानवजीवनमा सामवेदको पनि उत्तिकै महŒव छ । सर्वप्रथम वास्तुअध्ययन र यसको पद्धतिमा रहेर व्यक्तिले जीवन सञ्चालन गर्ने क्रममा उसलाई मनोविनोद पनि आवश्यक हुन्छ, क्रिडा, समयको परिपालन, उत्साह, नवीन ऊर्जा, उत्साह, श्रीवृद्धिका साथमा संगीत, कला, साहित्य, इन्द्रियभोगको चिन्तन, विषयभोगको चिन्तन, प्यारो वस्तुको परिकल्पना, गतिशील सोचाइ, ठाउँ, परिवेश र समयानुसारको इच्छा र आकांक्षाको पूर्ति, यी सम्पूर्ण कार्यक्षेत्र सामवेदका हुन् ।
अथर्ववदेको विश्वासले सामवेद प्रयोगस्थल– पूजाकोठा, अथर्ववेदको प्रयोगस्थल– बैठककोठा र भान्छाकोठा, ठीक र व्यवस्थित नभए घरभित्र र घरबाहिरको वातावरण ठीक हुँदैन । घर सजावटमा व्यक्तिको आफ्नै चाहना भए पनि पद्धति र परम्परा अनि प्रक्रिया व्यवस्थित नभए सोचे जति ज्ञान र विज्ञानको सदुपयोग हुन सत्तैmन ।
मानवजीनमा पुरुषार्थ आवश्यक हुन्छ । शुरता, वीरता, रक्षा, शान्ति र सद्भाव, भाइचारा, स्नेह, दया, करुणा, आत्मबल, पराक्रम, परिपक्वता जीवनका अपरिहार्य आधार हुन् । नेतृत्वको चयन, सक्षमता, कुशलनेतृत्व, मानपदवी, प्रतिष्ठा सारा गौरव यजुर्वेदका कायक्षेत्रहरू हुन् । आत्मशान्ति, धर्मको भावनात्मकपक्ष, कर्तव्यपरायणता, उपकारीभावले व्यक्ति, समूह, समुदाय र राष्ट्रसेवामा समर्पित हुनु राष्ट्रनिर्माण र पुनर्निर्माणमा समर्पित हुनु ऋग्वेदका गुण हुन् । यसरी हाम्रा पूर्वज वेदका ज्ञाता पैल, वैशम्पायन, जैमिनि, सुमन्तु आदि मन्त्रद्रष्टा ऋषिहरूको समष्टि वेद र वेदले स्थापना गरेकोे वास्तुपद्धति आजको शताब्दीमा झन् बढी महŒवपूर्ण बनेको छ ।
औद्योगिक भवन, कलकारखाना, व्यापारिकस्थल सकेसम्म पूर्व, उत्तर वा ईशान कोणतर्फ फर्केको हुनु लाभप्रद छ । औद्योगिकस्थलको वायव्यतर्फको ढोकाबाट तयारी सामान निष्काशन गर्न सके उत्पादित सामानहरूको वितरण छिटोछिटो हुन्छ । औद्योगिक उत्पादनस्थलभन्दा कार्यालय भवन उत्तर या पूर्वदिशामा राख्नुपर्छ । कारखानाको आकार वा उचाइभन्दा प्रशासनिक कार्यालयको आकार उचाइ ठूलो वा अग्लो हुनुहुँदैन । आफ्ना सेवाग्राही वा ग्राहकसँग व्यापारिक वा आर्थिक कुराकानी गर्दा उत्तर या उत्तरपूर्व या पूर्व मुख फर्की गर्नुपर्छ । यसो गर्दा बढी लाभ हुन्छ ।
औद्योगिक कारखानाका मेशिन, उपकरणहरू कारखानाको नैऋत्य, पश्चिम या दक्षिणतर्फ राख्नुपर्छ । कच्चा पदार्थलगायत सबै गह्रौं सरसामग्री दक्षिण या पश्चिम दक्षिणतिर राख्नुपर्छ । उत्पादित तयारी सामान भने वायव्यतिर राख्नुपर्छ । बिजुलीका सरसामान, जेनेरेटर, ब्वाइलर, मिटर, ऊर्जासम्बन्धी सरसामान अग्निको दिशा आग्नेयतर्फ राख्नुपर्छ । कुलर भने पश्चिम वायव्यतिर राख्नुपर्छ । चिम्नी भट्टीहरूको व्यवस्था भने आग्नेयतिर गर्नुपर्छ । यसोगर्दा पूर्व आग्नेय अग्लो हुने स्थिति निराकरणका लागि चिम्नीभन्दा अग्लो कुनै सामान पानी ट्यांकी नैऋत्यतर्फ राख्दा वास्तुदोष कम हुन्छ ।
घर, कार्यालय, व्यापारिक महल वा सार्वजनिक निर्माणकार्य गर्दा पूर्व, उत्तरतर्फ सकेसम्म बढी खुल्ला गर्नुपर्छ । पानीट्यांकी, धारा, जमिनमुनिको पानी आपूर्तिस्थिति आदि पूर्व उत्तर क्षेत्रमै राख्नुपर्छ । बरण्डाहरू पूर्व वा पूर्व उत्तर बढी हुनुपर्छ । तलापिच्छे पिउने पानीको प्रबन्ध उत्तर पूर्वतर्फ नै गर्नुपर्छ ।
पूजा कोठा पनि पूर्वउत्तर नै गर्नुपर्छ । अण्डरग्राउण्ड भवनहरू बनाउँदा पनि पूर्वउत्तर, ईशानतर्फ नै फर्काउने कोसिस गर्नुपर्छ । सवारी पार्किङ पनि पूर्वउत्तर नै राम्रो हुन्छ । अण्डरग्राउण्डमा पनि दक्षिण पश्चिम क्षेत्र अग्लो नै हुनुपर्छ । पश्चिम दक्षिण दिशातर्फ अग्लाइ बढी, खुल्लाक्षेत्र कम र पूर्व उत्तरतर्फ होचाइ बढी र खुलाक्षेत्र पनि बढी नै हुनुपर्छ ।
भवनका सिँढीहरू, लिफ्ट दक्षिण वा दक्षिण पश्चिमतिर नै हुनुपर्छ । व्यापारिक पसलहरूमा सरसामान सजाउँदा दक्षिण पश्चिमतिर अग्ला र गह्रौं सामानहरू राख्नुपर्छ । उत्तर पूर्वतिर होचा र हलुका सामान राख्नुपर्छ । पसलमा देवदेवीको मूर्ति राख्दा ईशान दिशामा राख्नुपर्छ । मूर्तिका पीठभाग पूर्व र मुखभाग पश्चिमतिर फर्केको हुनुपर्छ । सटरहरू धेरै भए पूर्वउत्तर मुख फर्केको सटरलाई बढी समय खुला राख्नुपर्छ । पसलको भुइँ पनि उत्तर, ईशान वा पूर्वतिर केही होचो हुनुपर्छ । प्रवन्धक, मालिक वा औद्योगिक, व्यापारिक भवनका मुख्य व्यक्ति निर्देशकको कोठा दक्षिण पश्चिमतिर हुनुपर्छ र मुख भने पूर्व उत्तरतिर फर्कने गरी बस्ने प्रबन्ध मिलाउनुपर्छ । कोठाका ढोकाहरू पनि पूर्वउत्तरतर्फ नै बढी हुनुपर्छ ।
चार वेदमध्ये अथर्व वेदको उपज हो स्थापत्यवेद । स्थापत्यवेदको उपज हो वास्तुशास्त्र । वास्तुशास्त्रले पुराणसँग प्रत्यक्षतः सरोकार राख्ने गर्छ । पुराण १८ वटा र तिनका उपपुराणहरू पनि १८ वटै छन् । पुराण भनेपछि पुराना कुरा भनेर नाक खुम्च्याउने संस्कृति विकास भएको छ । पूर्वीयशास्त्र, पुराण, आगमशास्त्र, वेदको अध्ययन हिजोआज जर्मनीमा हुनेगरेको छ । एसियाका संभ्रान्त मुलुकहरू थाइल्याण्ड, सिंगापुर, चीनमा यसको खोजी बढेको छ ।
भरतखण्ड, जम्बुद्वीप, भारतवर्ष त यसको केन्द्रीय भाग हुँदै हो । वेद, पुराणका रचयिता व्यास, पराशर, वशिष्ठ आदिका तपस्थली नेपालको भूभाग हो । तिनका नामबाट आजभोलि क्षेत्र, नगर, ग्राम, उद्यानहरूको नामकरणसमेत भएको पाइन्छ । नामकरणमात्र भएर तिनको जगेर्ना हुन सक्दैन । नामअनुसार कार्य गर्नु पनि हाम्रो दायित्व हो ।
मनुस्मृतिले सामाजिक व्यवस्थापन र सन्तुलन कायम राख्न अनेकौं प्रयास गरेको छ । मनुस्मृतिले नै स्त्रीहरूको रक्षा, संरक्षणदेखि स्त्रीहरूको पूजा हुँदा देवताहरू प्रसन्न रहने बताएको छ । असहाय, दीन, दुःखीहरूको सेवालाई मानवधर्म बताएको छ । मत्स्यपुराण, अग्निपुराणले वास्तुशास्त्रको थप चर्चा गर्दै गृहनिर्माण, आकार, प्रकार, प्रवेशसमय, जीर्णाेद्धारका विधि, मानव जीवनवरिपरि रहने मठ, मन्दिर तिनको आकार, प्रकार, आयु, प्रतिष्ठा र प्रवेशविधि, निषिद्ध वस्तुहरू, तिनको पूजापद्धति, प्रक्रिया, योग्यता, दिशानिर्धारण, तौल, उचाइ, गुणस्तर र तिनका सबल एवं दुर्बलपक्ष, कमीकमजोरीबाट हुने सम्भावित खराबी र तिनको उपचारात्मक र प्रबद्र्धनात्मक सबै कुराको दृष्टिगोचर गरेको छ ।
ज्योतिषविद्या तिनका स्वरूप, गति निर्धारणदेखि दैवी ऊर्जा र सकारात्मक ऊर्जा प्राप्त गर्न घर, भवन निर्माणको थालनी, सर्ने समय र प्रक्रिया, शिलान्यास र वास्तुविधि, झ्याल, ढोकाको स्वरूप र गुणस्तर, घरको स्वरूप, उचाइ, जमिनको शल्यक्रिया र उपचार, तलाको स्वरूप, जग खन्दा अपनाउनुपर्ने विधिदेखि घरको स्वरूप तयारपछि गृहप्रवेशसम्म, प्रक्रिया, शुभसंकेत र घर निर्माणपछि घरपरिवारको कल्याण, आयु, श्री, कीर्ति वृद्धि, सम्पत्तिको रखाइ, सेफको स्वरूप, तौल, दिशा निर्धारणदेखि सौभाग्यलक्ष्मीको, भोगलक्ष्मीको, आयुलक्ष्मीको, कीर्तिलक्ष्मीको, यशवृद्धिदेखि उपकारसम्म र दानको महिमादेखि स्वस्थ जीवनशैलीसम्मको चर्चा गरेको छ ।
तनमा कान्ति, मनमा शान्ति कायम गरी जीवनमा यश, आनन्द र परमानन्द प्राप्तिको अवस्थासमेतको बोध गराएको छ । मानवजीवन पशुपक्षीझैँ केवल बाँच्नुमात्र नभएर बचाउनु पनि हो । अत एव उपकार, सेवा, प्रतिष्ठा, सामाजिकीकरणसम्मका कार्यहरूमा वैदिक ग्रन्थहरूले जोड दिएका छन् । अथर्व वेदले अर्थशास्त्रको अध्ययन, सम्पत्तिको अध्ययन सदुपयोगको अध्ययन गरेको छ । भोगशास्त्र भएर पनि योगशास्त्रको रूपमा भौतिक सम्पत्तिलाई प्रयोग गर्ने गरी सरसल्लाह दिने अथर्ववेदले स्थापत्य वैदिक परम्पराअनुसार वास्तुशास्त्रको यथार्थ पहिचान, अध्ययन, विश्लेषण गरी मानवजीवनलाई इहलौकिक सुखसन्तोषका साथै पारलौकिक सुख आनन्दप्राप्तिको मार्गसमेत प्रशस्त गरेको छ ।
स्थापत्यवेदको सामान्य अध्ययनले वास्तुशास्त्रको विश्लेषण पूरा हुँदैन । वैदिक समूहको सम्पूर्ण शास्त्रहरूको सामान्य जानकारी हुन जरुरी छ । सम्पूर्ण आगमशास्त्रहरू यसका हाँगाबिँगाहरू हुन् । चार वेदको सार पाँचौं वेद महाभारत हो । महाभारतको उद्योगपर्व, वनपर्वहरूले जीवन र जगत्को विशद् चर्चा गरेका छन् । भविष्यपुराण, देवीभागवत, आयुर्वेदशास्त्र यसको चरकसंहितादेखि ऋग्वेद, यजुर्वेद र सामवेदसम्मको सामान्य जानकारी पनि जरुरी छ । सामवेदको उपज हो– संगीत, कला, नृत्य, गायन, वाद्यवादन, संगीतका स्वर, ध्वनिदेखि संगीत र कलाका आदिमसाधन बाँसुरी, मुरलीदेखि आधुनिक साजसज्जासहितका यन्त्रउपकरणहरू ।
वास्तुशास्त्रको विषय वास्तुकला हो, कलाकारिता हो, कार्यकौशलता हो र मानवसभ्यता पनि हो । उद्देश्यका विन्दुहरूसम्म पुग्न मानवजीवन साधनामय हुन जरुरी छ । यस्ता ग्रन्थ, पुराणहरूको अध्ययन विश्लेषण, तिनको पद्धति पूजाप्रक्रिया, घरभित्र र घरबाहिर वैदिकचिन्तनको प्रभावकारिता तिनको उपयोग, राख्ने ठाउँ, पूजाकोठादेखि पुजक बस्ने क्षेत्र, उपचारात्मक पूजापद्धति तिनका सरसामग्रीको सूची, समय, सन्ध्यावन्दनका कुरा, बिहानीदेखि सन्ध्यासम्मका प्रक्रिया, रात्रिको अवस्थासमेत सबै विषयवस्तुको सामान्य जानकारी हुन जरुरी छ ।
आयुर्वेददेखि आधुनिक विज्ञानसम्म र गणित शास्त्रदेखि ज्योतिष विद्यासम्मका सामान्य जानकारी वेदज्ञ, कलापारखी, संगीतज्ञ, धर्मज्ञ, मर्मज्ञ, शास्त्रज्ञ, पौराणिक चिन्तक, पथप्रदर्शक, मानवविज्ञानका सामान्य एनोटोमीदेखि गृहभित्र र घरबाहिरको परिवेश, परिस्थितिको विश्लेषक, कुशल, स्पष्टवक्ता, धीर, बुद्धिमान्, योगवेत्ता, ध्यानी, ज्ञानी, देवताको उपासक सुलक्षणले युक्त व्यक्ति वास्तुशास्त्रको पारखी हुन सक्छ ।




















