अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

लण्डन । साविकको विजेता अष्ट्रेलिया क्रिकेट विश्वकप २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दै पाँच पटकको च्याम्पियन अष्ट्रेलिया दुई खेल अगाबै विश्वकपमा पुगेको हो ।

६ मध्ये ५ खेलमा जित हात पारेको अष्ट्रेलियाले १२ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पराजित इंग्ल्याण्ड भने ८ अंकका साथ चौथो स्थानमा छ । सेमिफाइनलमा पुग्न अब उसले बाँकी दुई खेलमा जित्नुपर्ने अवस्था छ ।

इंग्ल्याण्डले अब इण्डिया र न्यूजिल्याण्डसँग खेल्न बाँकी छ । त्यसबाहेक बंगलादेश, श्रीलंका र पाकिस्तानका नतिजाले पनि इंग्ल्याण्डलाई असर गर्नेछ ।

कप्तान आरोन फिन्चले शतक प्रहार गरेपछि लर्डसमा अष्ट्रेलिया ३३ ओभरमा १७३–२ को स्थितिमा थियो । तर इंग्ल्याण्डले उनीहरूलाई २८५–७ को रनमा रोकिदियो । अष्ट्रेलियाको मध्यक्रम चलेनन् । पहिलो विकेटका लागि फिन्च र डेविड वार्नरबीच १२३ रनको साझेदारी भएको थियो । वार्नर ५३ रनमा आउट भएसँगै उक्त साझेदारी टुट्यो ।

फिन्चलाई साथ दिइरहेका उस्मान ख्वाजालाई बेन स्टोक्सले ३३ ओभरको दोस्रो बलमा बोल्ड पारे । ख्वाजाले २९ बलमा २३ रन जोडे । सय रन पूरा गरेसँगै फिन्चपनि पवेलियन फर्किए । ११६ बल खेल्दै फिन्चले ११ चौका र २ छक्का प्रहार गरे ।

स्टिभ स्मिथलाई ३८ रनमा क्रिस वाक्सले जेफ्रा आर्चरको हातबाट क्याच गराए । त्यसबाहेक पुछारमा एलेक्स केरीले आक्रामक पारी खेल्दै २७ बलमा ५ चौकासहित ३८ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक २ विकेट हात पारे । जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीको नाममा समान १ विकेट रहृयो ।

मध्यम लक्ष्य पाएपनि अष्ट्रेलियाका पेश बलर सामु इंग्ल्याण्डका ब्याट्सम्यानहरू निरीह देखिए । माथिल्लोक्रम नचल्दा १४औं ओभरमा ५३–४ को स्थितिमा रहेको इंग्ल्याण्डलाई बेन स्टोक्सले ८९ रनको पारी खेल्दै अघि बढाए । तर मिचेल स्टार्कले उनलाई बोल्ड पारेसँगै इंग्ल्याण्ड २ सय २१ रनमै अलआउट भयो ।

पहिलो ओभरमै जेम्स भिन्चलाई खाता नै खोल्न नदिई पाउल बिहेर्नड्रोफले बोल्ड पारी दिएका थिए । चौथो ओभरमा मिचेल स्टार्कले जेव रुटलाई एलबिडब्लुको शिकार बनाए । रुटले ८ रनमात्रै बनाउँन सके । यस्तै कप्तान इयोन मोर्गन ४, जोनी बेरिस्टोले २७, क्रिस वोक्सले २६ तथा जोश बट्लर र रशिद आदीलले समान २५–२५ रन बनाए ।

इंग्ल्याण्डलाई सस्तैमा अष्ट्रेलियाका लागि जासन पाउल बिहेर्नड्रोफले ४४ रन खर्चेर ५ विकेट लिए । यस्तै मिचेल स्टार्कले ४ विकेट लिए ।

हारपछि प्रतिक्रिया दिँदै इंग्ल्याण्डका कप्तान इयोन मोर्गनले आफूहरूले बाँकी खेल जित्दै सेमिफाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी दुई खेल जित्दै अवश्य सेमिफाइनलमा पुग्नेछौं । त्यसका लागि हामीले राम्रो प्रदर्शन गर्नै पर्छ ।’