क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले नागरिकहरूको न्यूनतम मासिक आम्दानी ४,००० रिङ्गिट नपुगेसम्म वस्तु तथा सेवा कर (GST) पुनः लागू गर्ने विषयमा सरकारले विचार नगर्ने स्पष्ट पार्नुभएको छ। बिहीबार तल्लो सदन (देवान रक्यात) मा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ सत्रमा बोल्दै उहाँले हालको न्यून आयस्तरमा व्यापक दायरा भएको कर प्रणाली लागू गर्दा सर्वसाधारणमाथि थप आर्थिक बोझ पर्ने बताउनुभयो।
नागरिकको न्यूनतम आम्दानी ४,००० रिङ्गिट पुगेको खण्डमा कम दरमै कर लगाउँदा पनि जनतालाई धेरै भार नपर्ने र राज्यले राम्रो राजस्व संकलन गर्न सक्ने प्रधानमन्त्री अनवरको तर्क छ। जीएसटी (GST) प्रणाली पारदर्शी र प्रभावकारी भए तापनि न्यून आय भएका परिवारमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै सरकारले तत्काललाई बिक्री तथा सेवा कर (SST) लाई नै निरन्तरता दिने अडान लिएको हो।




















